Advertise:
गोरखा । गोरखा दरबार पुनर्निर्माणको काम अनिश्चित भएको छ । दोश्रो पटक थपिएको म्याद पनि मंगलबार सकिएपछि पुनर्निर्माणको काम अन्यौलमा परेको हो ।
‘हामीले हेर्दा ६०/६५ प्रतिशत जति काम भएको हुनुपर्छ,’ गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले भने, ‘काठ नआएकाले धेरै समय भयो निर्माणको काम रोकिएको छ । अहिले कामदारहरु पुरानो टुँडाल, आँखी झ्याल लगायतका पुराना सामानहरु मर्मत गरिरहेका छन् ।’
वर्तमान सार्वजानिक खरिद ऐनको प्रावधान अनुसार अब दरबारको म्याद थप्न नमिल्ने बिज्ञहरु बताउँछन् । जसका कारण गोरखा दरबार पुनर्निर्माणको काममा अनिश्चिता थपिएको छ ।
‘सुरुमा हामीबाट कमजोरी भएर ६ महिना ढिलाई भएको पक्कै हो । त्यसपछि पाएको टाइमलाइनमा उसले काम नगरेको पनि पक्कै हो,’ पुरातत्व विभागका डिजि दामोदर गौतमले भने, ‘त्यसको अलवा कोभिड १९, काठ अभाव लगायतका विभिन्न कारणले मंसिर मसान्तको समय सिमासम्म पनि काम सम्पन्न हुन सकेन ।’
काठ उपलब्ध गराउने सन्र्दभमा वन मन्त्रालय र पुरातत्व विभाग वीच आपसी समन्वय नहुँदा गोरखा दरबार पुनर्निर्माण प्रभावित भएको उनको तर्क छ । ठेकेदारको बचाउ गर्दै उनले ढिलाईको मुख्य कारण प्राविधिक त्रुटि भएको दाबी गरेका छन् ।
तपाइँले ठेकेदारको बचाउ गर्नु भयो नी भन्ने हाम्रो जिज्ञासामा उनले भने, ‘हामीले टाइमलाइनमा काम गर्न नसकेकाले पब्लिकले त्यसो भन्नु स्वभाविक हो, त्यसलाई म स्वीर्काछु । ठेकेदार बचाउ गर्नु पर्ने कुनै काारण छैन । तर अहिलेको परिस्थितीलाई पनि हेर्नु पर्छ । ठेकेदारलाई मात्र दोष देखाउन मिल्दैन जस्तो मलाई लाग्छ ।’
कानूनी हिसाबमा म्याद सकिएकाले अब कसरी अघि बढ्ने भन्ने बारेमा सोमबार ठेकेदार कम्पनीसँग छलफल गरिएको उनले बताए । ऐतिहासिक धरोहरहरु पुनर्निर्माणको काम संवेदशिल हुने, दक्ष कामदारको अभाव, प्रतिकुल समय लगायतका कारणलाई आधार बनाएर विशेष परिस्थितीमा केही सरकारले फेरी समय थप गर्न सक्ने उनको संकेत छ ।
‘तोकिएको टाइमलाइनमा गोरखा दरबार पुनर्निर्माण गर्न सकेनौं । उक्त कुरामा म गोरखाली जनतासँग माफी माग्न चाहान्छु,’ उनले भने, ‘हाम्रो आर्थिक कार्यविधि छ, सार्वजानिक खरिद ऐन र नियमावली छन्, त्यस अनुसार दण्ड जरिवाना गराएर पनि गोरखा दरबार पुनर्निर्माण गराउँछौं ।’ यदी त्यस्तो परिस्थिती रहेन भने ठेक्का रद्ध गरी नयाँ प्रक्रियामा जान सकिने बिभागले संकेत गरेको छ ।
२०७४ कार्तिकमा पचली शिवाको जेभीले पुरातत्व विभागसँग ४ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । २०७६ मंसिर मसान्तसम्मको निर्धारित समयसिमामा १ तला पनि नबनेपछि २०७७ जेठ मसान्तसम्मका लागि म्याद थप गरिएको थियो ।
कामले रफ्तार लिएका बेला कोरोना संक्रमण फैलिएर लकडाउन घोषणा भएपछि पुनः ६ महिनाका लागि थपिएको समय पनि मंगलबार सकिएको पुरातात्विक विभागले जनाएको छ । कोरोना र काठ अभावका कारण तोकिएको समय भित्र काम गर्न नसकिएको निर्माणकर्ता पचली शिवाको जेभिले जनाएको छ ।
उक्त कम्पनीका सञ्चालक सुलिलबाबु श्रेष्ठले बिभागकै कारण समस्या भएको दाबी गरेका छन् । पटक पटक डिजाइन स्टमेट परिवर्तन गरेको, काठ ल्याउनका लागि वन मन्त्रालयसँग समन्वय नगरिदएको, अन्य प्राविधिक समस्या समाधान गर्न आवश्यक सहयोग नगरेका कारण काममा तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकिएको उनले बताए । कोरोनाका कारण लामो समय काम प्रभावित भएकाले पुनः मौका पाउनु पर्ने निर्माण कम्पनीको दाबी छ ।
शाह बंशिय उद्गम थलो मानिएको गोरखा दरबार तत्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको किम्मदन्ती छ । नेपालकै ऐतिहासिक गोरखा दरबार २०७२ बैशाख १२ को विनाशकारी भुकम्पले पुर्ण रुपमा क्षति पुगेपछि २०७४ पुसबाट भत्काएर जगैबाट पुनर्निमाण सुरु गरिएको हो । नेपालको ऐतिहासिक गोरखा दरबार र त्यहाँ रहेका विभिन्न संरचना बन्न ढिलाई हुँदा पर्यटनमा समेत ठूलो घाटा भएको सरोकारवालाहरु बताउँछन् ।
- Comments
- Facebook comments