Rato Pana
गण्डकी प्रदेश धर्म/संस्कृति पर्यटन समाचार समाज

धार्मिक पर्यटन प्रवर्द्धनका लागि ‘मदारबाबा’ क्षेत्रमा केवलकार

Advertise:
Advertise:

परासी । इस्लाम र हिन्दु धर्मावलम्बीको साझा आस्थाको केन्द्र मदारबाबा थानमा केवलकार सञ्चालन हुने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुस्ता गाउँपालिका–२ स्थित यस स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले केवलकार सञ्चालनका लागि प्रक्रिया थालेको हो ।

मदारबाबा थान (समाधीस्थल) पुग्न महलबारी बजारबाट पहाड र जङ्गल हुँदै करिब तीन घण्टाको उकालो चढ्नुपर्ने हुन्छ । व्यवस्थित सडक नहुँदा भक्तजन घण्टौँ जोखिमपूर्ण पैदलयात्रा गरेर समाधीस्थल पुग्ने गरेका छन् । महलबारीबाट समाधीस्थलसम्म जाने यात्रुलाई सहजताका लागि केवलकार सञ्चालन गर्न लागिएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

“हामीले स्थानीय तहको चुनावका क्रममै घोषणापत्रमा यहाँ आउने भक्तजन र पर्यटकलाई आवातजावतमा सहज बनाउन केवलकार सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थियौँ, सोहीअनुसार प्रक्रिया सुरु गरेका छौँ”, उनले भने, “केवलकार सञ्चालनका लागि व्यवसायीहरू आएर लगानी गर्ने इच्छा देखाउनुभएको छ” ।

सुस्ता–२ महलबारीबाट समाधीस्थलसम्मको नौ किलोमिटर बाटो हाल जोखिमपूर्ण पैदलयात्राबाट जानुपर्ने बाध्यता छ । समाधीस्थलमा पुगेर दर्शन गर्दा मनोकामना पूरा हुने विश्वासका साथ यहाँ प्रत्येक वर्ष नेपाल र भारतका लाखौँ भक्तजन आउने गरेका छन् । यहाँ शिवरात्रिभन्दा नौ दिनअघिदेखि ठूलो मेला लाग्ने गर्दछ । दश दिनसम्म लाग्ने मेला शिवरात्रिको दिन समापन हुन्छ ।

यस पवित्रस्थलमा बाह्रै महिना पर्यटकको आकर्षण बढाइ धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न गाउँपालिकाले केवलकार सञ्चालनको प्रक्रिया थालेको जनाएको छ । पैदलयात्रा नै गरेर दर्शनका लागि समाधीस्थल पुग्न चाहने भक्तजनको सुविधाका लागि पनि महलबारीबाट समाधीस्थलसम्म सिँढी निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष पाण्डेले उल्लेख गरे । समाधीस्थलसम्म पुग्ने बाटो वन क्षेत्रमा पर्ने भएकाले सिँढी निर्माणका लागि वन विभागसँग स्वीकृतिका लागि पठाइएको उनले बताए । गढीमाईपछिको सबैभन्दा ठूलो मेला लाग्ने यस स्थलमा अप्ठ्यारो सडकसँगै खानेपानी, बिजुली, शौचालयको समेत समस्या छ ।

यस क्षेत्रको विकास, संरक्षण र जर्गेनाका लागि गाउँपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गरी लगानी गर्दै आएको अध्यक्ष पाण्डे बताउँछन् । गत वर्ष रु २५ लाख विनियोजन भएकामा कोरोना महामारीका कारण काम गर्न नसकिए पनि यस वर्ष निरन्तरता दिने उनले बताए । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि यस क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको छ । तीनै तहका सरकारको साझेदारीमा यस क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम गर्ने उनको भनाइ छ ।

मुस्लिम समुदायका लागि नेपालकै ठूलो र पुरानो ऐतिहासिक मदारबाबास्थलमा हरेक वर्ष फागुन महिनामा लाग्ने मेलामा पाँच लाखभन्दा बढी भक्तजन आउने गर्दछन् । त्यसमध्ये ६० प्रतिशतभन्दा बढी भारतबाट आउने गरेको मदारबाबास्थलका मठाधीश अमिरुल्लाह अन्सारीले बताए । विशेषगरी सन्तान नहुनेहरुले यहाँ आएर दर्शन गर्दा सन्तान प्राप्ति हुने गरेको जनविश्वास छ । यसबाहेक अन्य बिरामीले यहाँ आएर भाकल गर्ने गरेका छन् ।

यहाँ आउने पर्यटक एक दिन बास बसेर जाने गरेका छन् । तर समाधीस्थलमा बासको राम्रो व्यवस्था छैन भने पिउन तथा स्नान गर्न पानीको सुविधा छैन । बिजुली नहुँदा टुकीको भरमा प्रार्थना तथा पूजा गर्नुपर्ने बाध्यता छ । यस क्षेत्रको संरक्षण कुतबुल मदार शाह दरगाह कमिटी महलबारीले गर्दै आएको छ । मठाधीश अन्सारीका अनुसार यो स्थल मदारबाबाले तपस्या गरेको क्षेत्र हो ।

आजभन्दा ६ सय वर्ष पहिला मदारबाबा यस स्थलमा आएर तपस्या गर्नुका साथै आफ्ना शिष्यहरुलाई सन्देश दिने र मानवसेवामा क्रियाशील थिए । सुरुमा महलबारीमा रहेको गद्दी घरमा बाबा बस्ने गरेको तर त्यहाँ भीड बढ्न थालेपछि माथि पहाड हालको समाधीस्थलमा गएर तपस्या र सेवा गर्ने गरेको किंवदन्ती छ । उनका शिष्य र अनुयायी हिन्दु तथा इस्लाम दुबै धर्मका रहेकाले आज पनि यस स्थलमा सबै धर्मको उत्तिकै आस्था र विश्वास रहेको छ ।

विश्वका १०३ देशमा भ्रमण गर्ने क्रममा मदारबाबाले नवलपरासीको यस मदारडाँडा र बुटवलको फूलबारीमा पनि तपस्या गरेको बताइन्छ । भौगोलिकरूपले विकट तथा वर्षको एकपटक मात्र मेला लाग्ने गरेकाले यस क्षेत्रको उचित प्रचारप्रसार र विकास हुनसकेको छैन । केवलकार सञ्चालन भए यहाँ आउने पर्यटक थप बढ्ने र आवातजावतमा सहज हुने मठाधीश अन्सारीले बताए । यद्यपि पैदलयात्रामा रमाउनेका लागि सिँढी पनि आवश्यक रहेको उनले बताए ।

विश्वकै धरोहरका रूपमा रहेका यस स्थलको विकासका लागि तीनै तहका सरकारले ठोस योजनाका साथ कार्य गर्नुपर्ने कुतबुल मदारशाह दरगाह कमिटीका अध्यक्ष निजामुद्दिन मियाँले बताए । यसस्थलमा पुग्न सदरमुकाम परासीबाट २७ किलोमिटर र पूर्वपश्चिम राजमार्गको बर्दघाटबाट २१ किलोमिटरको यात्रा तय गर्नुपर्दछ । रासस

Advertise: Advertise:

Related posts

Leave a Comment