Rato Pana
प्रविधि शिक्षा स्वास्थ्य हाइलाइट-समाचार

जिम गर्दा ध्यान दिनुपर्ने कुरा र जिम सम्बन्धी रहेका गलत धारणाहरू यसप्रकार…

Advertise:

पर्सा,२६ असार

हिजाे आज शरीर आकर्षक बनाउन र मोटोपन घटाउन जिम गर्ने मानिषहरुको संख्या निकै बढेको छ । जिम सेन्टर जान समय नहुनेहरु पनि घरमै शारीरिक अभ्यास गर्छन् । घर वा जिम सेन्टर जहाँ भएपनि ब्यायाम सही तरिकाले गरिएन भने शरीरलाई झन् हानी हुन सक्छ । तपाईं जिम गर्नुहुन्छ वा जिम गर्ने योजनामा हुनुहुन्छ भने त्यसका लागि यी कुरामा ख्याल गर्नुस जसले तपाईंको शरीरलाई फिट राख्न मद्दत गर्छ ।

आज हामि यसै विषयमा कुरा गर्नका लागि वीरगंजको माईस्थान स्थीत पब्लिक फिटनेस सेन्टरका संचालक तथा प्रशिक्षक करण यादव संग गरिएको कुराकानीमा आधारीत जिम सम्बन्धी केहि टिप्स तथा जानकारीहरु यसप्रकार रहेकाछन् :

१.  जिम किन गर्दै हुनुहुन्छ प्रष्ट हुनुसः
सबैभन्दा पहिले आफु केका लागि जिम गर्दैछु भन्ने कुरामा स्पष्ट हुनुपर्छ । शरीरको तौल घटाउन हो वा बढाउने ? तौल घटाउन वा बढाउन जुन कारणले जिम गर्ने भएपनि जिम ट्रेनरको सल्लाह अनुसार ब्यायाम गर्ने र त्यसै अनुसारको खानपानमा ध्यान दिनुपर्छ ।

 २. हप्तामा ५/६ दिन मात्र जिम गर्नुस् :
हप्तामा सात दिन नै जिम गर्नुपर्छ भन्ने छैन । ५/६ दिन आएपछि एक दिन आराम गर्नुपर्छ। हप्ताभरी जिम गर्दा शरीरलाई आराम पुगेको हुँदैन। लगातार शरीरलाई प्रेसर दिँदा धेरै थकाइ लाग्छ। यस्तो भएमा केही खाएपनि शरीरमा लाग्दैन। त्यसकारण हप्तामा १ दिन आराम गरेर जिम गर्नु उपयुक्त हुन्छ।

३. कम्तीमा दिनमा ८ घन्टा सुत्नुस् :
जिम गर्न सुरु गरेपछि दिनमा ८ देखि ९ घन्टा कम्तीमा सुत्नुपर्छ। राम्ररी निन्द्रा पुगेन भने धेरै थकाइ लाग्छ। शरीरलाई फ्रेस अनुभव गराउन पनि जिम गरेपछि नियमित रुपमा राम्रो निन्द्रा लिन आवश्यक छ।

४. सन्तुलित खाना खाने गर्नुस् :
जिम गर्ने मानिसले सन्तुलित खाना खानुपर्छ। दुब्लो शरीर भएमा धेरै खानुपर्छ। यदि शरीर मोटो छ र तौल घटाउन जिम गर्दै हुनुहुन्छ भने थोरै थोरै खानेकुरा छिटो छिटो खानुपर्छ। यदि मोटाउनु छ भने शक्ति कम खर्च गर्ने र धेरै खाने गर्नुपर्छ। जिम गर्ने मान्छेले सन्तुलित भोजन खाएन भने हड्डी भाँचिने र काम गर्न नसक्ने हुन्छ। दौडिन नसक्ने, एकदम चाँडै थाक्ने जस्ता असरहरु देखिन सकछ। शरीर घटाउन भन्दै जिम गर्दा क्षयरोग (टिवी) पनि लाग्ने सम्भावना हुन्छ। त्यसैले जिम गर्न सुरु गरेदेखि नै नियमित रुपमा सन्तुलित भोजन खानुपर्छ।

५. जिम हलभित्र सवधानी:
पहिलो पटक जिम हलमा जाँदा अरुले गरेको देखेर म पनि त्यही गर्छु भन्नुहुँदैन। आफ्नो क्षमता कति छ त्यो हिसाबले र जिम प्रशिक्षकको सल्लाहमा गर्नुपर्छ। जिम गर्दा अपनाउनु पर्ने सवाधानी नियम र गर्ने तरिकाहरुबारे जिम प्रशिक्षकसँग सोधेर राम्रोसँग गर्नुपर्छ।

६. प्रोटिनयुक्त खाने कुरा खानुस्:
जिम गर्न सुरु गरेपछि शरीर दुब्लो पातलो जस्तो भएपनि प्रोटिन युक्त खानेकुरा खानुपर्छ। कार्बोहाइड्रेड भएका खानेकुरा जस्तै दाल, भात, तरकारी भन्दा पनि प्रोटिन युक्त खानेकुरा जस्तै मासु, राज्मा, चना, अन्डाको सेतो भाग आदि खानुपर्छ।

७. एकै पटक धेरै तौल नउठाउनुस् :
जिम गर्न सुरु गर्ने वित्तिकै अरुले गरेको देखेर म पनि यति गर्न सक्छु भनेर एकै पटक धेरै तौल उठाउनु हुँदैन। आफ्नो सुरुको क्षमता १० किलो उठाउने छ भने त्यतिबाट मात्र सुरु गर्नुपर्छ। हप्तैपिच्छे जिम गर्दै जादाँ शरीरमा इनर्जी बढ्दै गएपछि १० बाट २०, २० बाट ३० गर्दै तौल बढाउँदै लैजानुपर्छ।

८. शरीरको सबै भागको ब्यायाम गर्नुस् :
ब्यायाम गर्दा शरीरका मुख्य छ भाग( छाती, ढाड, पाखुरा, खुट्टा र हातको ब्यायाम गर्नुपर्छ। यी ६ भागको व्यायाम गरेपछि मात्र शरीर बलियो हुन्छ। कतिपयले हात ठूलो देखाउने हिसाबमा खुट्टाको एक्सरसाइज नगर्ने बानी हुन्छ। यसले हात ठूलो हुनु भन्दा पनि झन कमजोर भइन्छ। शरीरको हरेक भाग एक अर्का्सित जोडिने हुँदा सम्पूर्ण भागको व्यायाम गर्नुपर्छ। यसो नगरेमा शरीर राम्रो र बलियो हुनु भन्दा पनि कमजोर हुन थाल्छ।

जिम सम्बन्धि गलत धारणा

यस्ता केहि धारणाहरु छन् जुन मानिसहरुको मन मस्तिष्कमा डेरा जमाएर बसेका छन्, स्वस्थ हुन नित्तान्त आबश्यक हुँदा हुँदै पनि गलत धारणाले आफैलाई बिश्वास दिलाई स्वस्थ रहन बाट बन्चित भैरहेका छन् । बर्षौं देखि सुन्दै आएको र अझै पनि चलन चल्तीमा रहेका धेरै मध्ये केहि गलत धारणाहरु निम्न प्रकार छन्ः

१. फलाम उचालेर व्यायाम गर्न निकै गार्हो हुन्छ ।
अबश्य पनि गार्हो हुन्छ । र प्राय सबैजसो पहिलो चोटी गरिने क्रियाकलापहरु गार्है हुन्छन ।  जिम गर्दा पनि चांडै नै ज्यान बनाउँछु, घटाउछु भनेर सकिंदैन, एकैचोटी धेरै वजन उचाल्छु भनेर पनि कहाँ सकिन्छ र सबैजनाले थोरै बाट नै हो शुरु गर्ने  हल्का बाट शुरु गर्दै, व्यायाम गर्ने तौर तरिका सिक्दै बानी पार्दै जाने हो, पछि गएर त्यहि गार्होमा नै रमाउने बानी पर्दै जान्छ ।

२. फलाम उचाल्यो भने बुढेसकालमा ज्यान दुख्छ
दुख, पीडा अनि सुखको अनुभूति नगर्न त मुढा, ढुंगा वा फलामको ज्यान लिएर जन्मनु पर्छ । अनि ज्यान दुख्न बुढेसकालनै कुर्न किन पर्छ र, जहिले पनि दुख्न सक्छ । हाडजोर्नी लचिलो नहुने, मंशापेशिमा शक्ति नहुने, ढाड दुख्ने अनि जोर्नीहरू दुख्ने हो भने उमेर ६० कुर्नु पर्दैन, २०/२५ मै बुढेसकालको आभास दिलाइदिञन्छ शरीरिक व्ययामकै कारणले बुढेसकालमा ज्यान दुखेको तथ्य कतै भेटिन्न ।  व्यायाम भनेको उमेर छँदै शुरु गर्ने हो, बुढेसकालसम्म तन्दरुस्त हुन ।

३. जिम गर्यो भने हाइट (उचाइ) बढ्दैनः
जिम गर्दा गर्हुङ्गो फलामले थिच्दा थिच्दा शरीरको हाइट बढ्न दिदैन भन्ने मानसिकताले नेपाली दिमागमा धेरै पहिले देखि नै जरो गाडेको छ । यसरी जिम गर्दा हाइट नबढ्ने तथ्य आजसम्म विज्ञानले पत्ता लगाउन सकेको छैन। तपाइँ हाम्रो शरीरको हाइट वंशानुगत हुने गर्दछ,  यदाकदा कुनै रोग लागेर, कुपोषणको कारणले हाइट नबढ्नु बेग्लै कुराहाे । व्यायाम र सन्तुलित पोषणको कारण हुर्कदो उमेरमा उचाइ बढ्न लाइ पक्कै मद्धत गर्दछ ।

फिटनेस  प्रशिक्षक करण यादव संग गरिएको कुराकानीका आधारमा

Related posts

Leave a Comment