Rato Pana
प्रदेश २ प्रविधि समाज हाइलाइट-समाचार

महानगरका प्रत्येक चोकमा क्यामेरा जडान गर्ने आफ्नो लक्ष्य: सांसद यादव

Advertise:

पर्सा , १ साउन

पर्सा क्षेत्र न. १ का प्रतिनिधीसभा सदस्य प्रदिप यादवले सेफर बीरगन्जलाई सिसिटिभी क्यामेराहरु हस्तान्तरण गरेका छन् । संसदीय विकास कोषको सहयोगबाट सांसद यादवले अत्याधुनिक प्रविधी जडित २१ थान क्यामेरा सेफर बीरगन्जलाई हस्तान्तरण गरेका हुन् ।

बीरगन्ज उद्योग वाणिज्य संघ अन्तर्गतको ईकाईका रुपमा रहेको सेफर बीरगन्जले नगरमा सुरक्षा र अपराध नियन्त्रणका लागि सिसिटिभी जडानमा पहल गर्दै आएको छ । शुक्रबार बीरगन्ज उद्योग वाणिज्य संघको सभाहलमा आयोजित एक कार्यक्रमका बीच सांसद यादवले बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्तालाई सिसिटिभी क्यामेराहरु हस्तान्तरण गरे ।

बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्सा क्षेत्र नं १ का प्रतिनिधीसभा सदस्य प्रदिप यादव, पर्साका प्रहरी प्रमुख बेल बहादुर पाण्डे, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोज कुमार दास, सचिव गोविन्द साह, सह सचिव प्रेमचन्द्र गोयल, सह सचिव अनुज रुंगटालगायतकाको उपस्थिती रहेको थियो ।

सिसिटिभी हस्तान्तरण गर्दै सांसद यादवले नगरका विभिन्न भागमा जडान हुने यस क्यामेराहरुको प्रयोगबाट अपराध अनुसन्धान र नियन्त्रणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । यस पूर्व पनि सिसिटिभीको सहायताले विभिन्न अपराधहरुको अनुसन्धानमा प्रहरीलाई सहज भएका दृष्टान्तहरु बारे सांसद यादवले चर्चा गरे ।

बीरगन्जलाई सुरक्षित बनाउन सेफर बीरगन्जले सुरु गरेको अभियानमा सम्बन्धीत सबै सरोकारवालाहरुको समन्वय आवश्यक रहेकोमा सांसद यादवले जोड दिए । महानगर प्रत्येक चोकमा सिसिटिभी जडान गर्ने आफ्नो लक्ष्य रहेको भन्दै सांसद यादवले यसमा लाग्ने खर्च बारे जानकारी गराउन सेफर बीरगन्जलाई आग्रह गरेका थिए ।

उनका अनुसार सिसिटिभी क्यामेराको जडानबाट अपराध अनुसन्धानका साथै नियन्त्रणमा पनि टेको पुग्नेछ । साथै महानगर चोकहरुमा ट्राफिक लाईट जडानका लागि पनि आफुले पहल गरिरहेको उनले जानकारी गराए । सवारीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपनि मुख्य सडक फराकिलो हुन नसक्दा ट्राफिक व्यवस्थापनमा हुने गरेको समस्याहरु बारे अवगत रहेको उनले बताए ।

सिसिटिभी क्यामेरा ग्रहण गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले सांसद यादवप्रति धन्यवाद व्यक्त गरेका थिए । सेफर बीरगन्जले थालेको अभियानमा सांसद यादवको अमुल्य योग्दान रहेको भन्दै अध्यक्ष गुप्ताले अभियान सफलताको लागि सबैको सहयोग आवश्यक रहेको जिकिर गरेका थिए । अत्याधुनिक प्रविधी जडित क्यामेराहरुको सहायताले प्रहरीलाई अपराध अनुसन्धानमा निकै सहज हुने अध्यक्ष गुप्ताले विश्वास व्यक्त गरे ।

महानगरका विभिन्न स्थानमा जडान हुने क्यामेराहरुको निगरानी प्रहरीबाट हुने भएका कारण सूचना प्रविधीबारे विशेष जानकारी भएका प्रहरी अधिकारीहरुको आवश्यक्ता बारेमा उनले पर्साका प्रहरी उपरिक्षकको ध्यानाकर्षण गराएका थिए ।
बीरगन्जमा रहेका ८२ वटा क्यामेराहरु मध्ये हाल ३४ वटा सञ्चालनमा रहेको पर्साका प्रहरी प्रमुख बेल बहादुर पाण्डेले जानकारी गराए । सांसद यादवद्धारा प्रदान गरिएका क्यामेराहरुको सञ्चालनका लागि चाहिने जनशक्तिका बारे आफु सचेत रहेको उनले जानकारी गराए ।

Related posts

Leave a Comment