वीरगन्ज ।
म सनातन धर्म मानने परें । अर्काको धर्म/मजहब प्रति केहि लेख्नु या बोल्नु हुदैन भन्छन हुन पनि हो, यदि ज्ञान छैन भने कुनै पनि विषयको लेखन ले विवाद मात्रै निमताउछ । म सनातन भए पनि गाउँको जीवन सनातन र मुस्लिम धर्म मानने समुदाय बीच नै बित्यो। गाउँ देखी शहर सम्म अनेकौ मुस्लिम समुदायका साथीहरु अहिले पनि छन र भेंटघाट भई नै रहन्छन ।
मुहर्रम अर्थात गाउँको भाषामा दाहा/ताज या ताजिया मेला दुबै समुदाय ले बड़ो धूमधाम संग मनाउदै आएको मेरो अनुभव छ । मुहर्रम पर्वको तैयारी केहि दिन पहिला नै दाहा बनाउदै शुरू हुन्थ्यो । जसमा दुबै समुदायको अनुभवी ब्यक्तिको समन्वय हुने गर्थ्यों । त्यस ताका राती राती मेरै घरको अगाड़ी को चौकमा हिन्दू तथा मुस्लिम दुबै समुदायका बूढ़ा पाकाहरु जम्मा हुन्थे र मादल को ताल सँगै तासा (तबला जस्तै एक प्रकारको बाँसको छड़ी ले बजाउने बाद्य यन्त्र) र झाल तथा नालको तालमा घेराबन्दी को बीचमा लठी घुमाई (स्थानीय भाषामा लाठी या बाना भाँजेर ) मनोरञ्जन गरिन्थ्यो । कुनै नाबालक यदि बीचमा लठी लिएर छीर्यो भने अग्रजहरु त्यसलाई सुरक्षात्मक ढंग ले प्रदर्शन गर्न व्यस्था मिलाउथे ।
मारवाडी समुदायको डाँडिया जस्तै दुई लठी ले खेलिने मनोरंजनात्मक खेल “ठाकरा” घेराबंदी गरेर खेलिन्थ्यो । पुस्तान्तरण को अभावले “ठाकरा” खेलदा गाइने मौलिक गीत हाल मेरो स्मरणमा रहेन । म सँगै मेरा अनेकौ दुबै समुदायका साथीहरु त्यस कार्यक्रममा सहभागी हुन्थे र बेलुका को खाना पछि शुरू हुने उक्त कार्यक्रम कहिले काही बिहान हुन्जेल सम्म चलथ्यो ।
त्यति बेला धार्मिक पहिरनको व्यक्ति मठ मन्दिर तथा मस्जिदमा मात्रै देखिन्थे । “जय श्रीराम” या “अल्लाह हो अकबर” को नारा कुनै पर्व या धार्मिक स्थलमा मात्रै सुन्न पाइन्थ्यो । हालको पीढ़ी ले धार्मिक वस्त्र लाई आफ्नो फैशन बनाएका छन भने धार्मिक नारालाई दुरुपयोग गर्दै साम्प्रदायिक असंतुलनता समाजमा ल्याएका देखिन्छन ।
मुहरर्मको अन्तिम दिन मेरो गाउँमा ठुलो मेला लाग्ने चलन रहेको छ । उक्त मेला हेर्न हामी दुबै समुदायका साथीहरु चिटिक्क परेर जानथे । अहिले को अवस्था पहिलेको भन्दा ठीक विपरीत छ । हाल कुनै पनि सम्प्रदायको पर्व लाई एक अर्काले असुरक्षित नजरले देखने गर्छन । जून बाबू आमा आफ्नो बच्चाहरुलाई हर्सोउल्लास का साथ खुशी खुशी दाहा मेला हेर्न पठाउथे अचेल त्यही बाबुआमा घरबाट बाहिर ननिस्कन सल्लाह दिन्छन ।
कता जादैछ हाम्रो युवा पीढ़ी ? वीरगंजमा प्रत्येक महिनाको अन्तिम दुई दिन लाग्ने आर्थिक मेलामा एउटा ग्रूपले “अल्लाह हो अकबर” र अर्को ग्रूपले “जय श्रीराम” को नारा लगाउदै उच्छलंग गतिविधि गरेको देख्दा दुबै समुदायका वौद्धिक वर्ग तथा त्यस्ता पीढिका बाबूआमा प्रति दया लागेर आउछ । के यही संस्कार र संस्कृतिक हस्तान्तरण गर्दै छौ त हामी आफ्ना नव पीढिहरुलाई ?
व्यस्त जीवनमा हामी आफ्नो भावी पीढ़ीलाई धर्म, संस्कृति र परम्परा को पुस्तान्तरण गर्न असफल भयौ भने आउदो समयमा यो स्थिति अझ भयावह बन्ने निश्चित छ । संस्कृति र परम्पराको नाममा भत्रीएको कुरीतिलाई मात्रै नव पिढीले आत्मसात गर्दै जाने हो भने सामाजिक सन्तुलन कायम राख्न र आ-आफ्नो संस्कृति तथा परम्परा सँगै आफ्नो सामुदायिक अस्तित्व समेत जोगाउन कठिन हुने आसार देखिन्छ ।
मैले बुझे अनुसार मुहर्रम एउटा सहादतको पर्व हो । हिजरी कैलेण्डर को नया वर्ष मा मनाइने मुहर्रम पर्व हजरत इमाम हुसैन तथा उनका अनुयायीहरूको कर्बलाको जंगमा प्राप्त सहादत ले न्याय, त्याग तथा बलिदानको सन्देश दिन्छ । मुहर्रम मानवता, त्याग, समर्पण र सहदतको मैसेज दिने हुनाले यस पर्वलाई शान्ति का साथ आत्मसात गर्दै मनाइन्छ ।
लेखक : अशोक कुशवाहा