काठमाडौं । देशभरि १ हजार ६ सय ६१ वडाका केन्द्रबाट सबैभन्दा टाढाको बस्ती, टोल वा गाउँ पुग्न सवारीसाधन सुविधा नरहेको पाइएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रश्नावली अन्तर्गत नतिजा सार्वजनिक गरेको छ । जसअनुसार देशभरि १ हजार ६ सय ६१ वडा केन्द्रबाट ती वडाका सबैभन्दा टाढाका गाउँ पुग्न सवारीसाधन सुविधा उपलब्ध छैन । यो कुल वडाको २४.६ प्रतिशत हुन आउँछ ।
देशभरिका वडा केन्द्रबाट सबैभन्दा टाढाको गाउँबस्तीसम्म पुग्न सवारीसाधन र पैदल दुवै प्रयोग हुने वडा संख्या ४ हजार ८ सय ६४ छ । यो कुल वडाको ७२.१ प्रतिशत हो ।
बाँकी वडामा भने पैदलभन्दा बढी सवारीसाधन प्रयोग गरिन्छ । यस्ता वडा संख्या ३.२ प्रतिशतमात्र रहेको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नतिजाले देखाएको छ ।
राष्ट्रिय जनगणना २०७८ मा तथ्यांक संकलनको काम दुई चरणमा सञ्चालन भएको थियो । पहिलो चरणमा सुपरीवेक्षकहरूले हरेक घर परिवारमा पुगेर घर तथा घरपरिवार सूचीकरण फारम भरेका थिए ।
दोस्रो चरणमा गणकद्वारा मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण र अन्य विवरण भरेका थिए । दोस्रो चरणमै सुपरीवेक्षकले सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तरीय सामुदायिक प्रश्नावली मार्फत वडाको आधारभूत स्रोत, क्षमता, साधन, पूर्वाधार, सहरीकरण र विपद् जोखिमबारे विवरण संकलन गरेका थिए । ती विवरणको नतिजा कार्यालयले बुधबार सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम र कर्णालीमा सबैभन्दा धेरै विकटता
कार्यालयका अनुसार सवारीसाधन उपलब्धता नभएका हिसाबले सबैभन्दा धेरै विकटता कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ ।
कर्णालीमा वडा केन्द्रबाट सबैभन्दा टाढाको गाउँमा जान पैदल नै हिँड्नुपर्ने वडा संख्या ५९.२ प्रतिशत रहेको देखिएको छ ।
यस प्रदेशमा सवारीसाधन मात्र प्रयोग गरी वडा केन्द्रबाट सबैभन्दा टाढाको गाउँ जान सकिने वडामात्र २.६ प्रतिशत र सवारीसाधन तथा पैदल यात्रा दुवै प्रयोग गरी गाउँ पुग्न सकिने वडा संख्या ३८.२ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
सूदुरपश्चिममा पैदल यात्राबाट मात्र सम्भव हुने वडा ४६.५ प्रतिशत र सवारीसाधन तथा पैदल दुवै प्रयोग हुने वडा संख्या ४९.९ प्रतिशत छ । ३.७ प्रतिशत वडा केन्द्रबाट सबैभन्दा टाढाको गाउँमा पुग्न सवारीसाधन मात्र प्रयोग हुन्छ ।
सवारीसाधनको राम्रो सुविधा मधेश प्रदेशमा
तथ्यांक अनुसार वडाको केन्द्रबाट सबैभन्दा टाढाको गाउँसम्म पुग्न सवारीसाधन र पैदल दुवै सुविधा भएका वडा संख्या बढी हुने प्रदेश मधेश हो ।
यो प्रदेशमा ८८.९ प्रतिशत वडामा सवारीसाधन वा पैदल दुवै माध्यमबाट वडा केन्द्रबाट टाढाको गाउँ पुग्न सकिन्छ । यस प्रदेशमा पैदल यात्रामा मात्र भर पर्नुपर्ने वडा ८.९ प्रतिशत छन् ।
त्यस्तै लुम्बिनी प्रदेशमा सवारीसाधन सुविधा राम्रो देखिन्छ । यस प्रदेशका ८०.५ प्रतिशत वडा केन्द्रबाट सवारीसाधन र पैदल दुवै माध्यमबाट टाढाको गाउँ पुग्न सकिन्छ । साभार : अनलाईन खबर