Categories समाचार समाज

बाटोमा रोक्दै, स्यानिटरी प्याड थमाउँदै

Advertisement

नेपालअखबार, राजविराज। साँझको बेला छ। कार्यालय बिदा भएर फर्किएका र हाटबजारमा किनमेल गरेर फर्किनेको भीड लागेको छ। सबैलाई दिनभरिको कामको भारी बिसाएर सुस्ताउन घर जाने हतार छ।

यसै बेला राजविराजस्थित सहिद दशनचौकमा उभिएका एक दर्जन बढी स्वयंसेवी अधिकारकर्मीहरूले बाटो हिँड्ने महिला र किशोरीलाई डाक्दै हातहातमा स्यानिटरी प्याड थमाइरहेका छन्।

Advertisement

किशोरीहरू निसंकोच लिए पनि कतिपय महिला सार्वजनिक रूपमा प्याड लिन संकोच मानिरहेका देखिए। उनीहरूलाई अधिकारकर्मीहरूले बोलाएर महिनावारी हुँदा प्रयोग गर्ने प्याडको प्रयोग र उपयोगिताबारे जानकारी दिए।

Advertisement

महिनावारीसँग जोडेर कुनै पनि किसिमको छुवाछुत, विभेद, दुर्व्यवहार वा हिंसा गर्न नहुने र मर्यादापूर्वक जिउन पाउनुपर्ने अधिकारको वकालत गरे। त्यसपछि बल्ल महिला प्याड लिँदै घरका लागि प्रस्थान गरे।

लैंगिक हिंसाविरूद्धको १६ दिने अभियानअन्तर्गत मूल समारोह समितिले राजविराजमा स्यानिटरी प्याड वितरण गरेर स्वयंसेवक दिवस मनाएको दृश्य हो यो।

‘स्वयं सेवामार्फत ऐक्यबद्धता’ नाराका साथ बाटो हिँड्ने महिला र किशोरीलाई प्याडको प्रयोग र उपयोगिताबारे जानकारी मात्र दिएनन्, अधिकारकर्मीहरूले लैंगिक हिंसा नगर्न र हिंसा नसहन आग्रह गरे।

महिनावारीले हाम्रो वरपर भएका मिथ्या, भ्रम, कुसंस्कारलाई फोर्दै, चिर्दै सशक्तीकरण गर्न र स्वयंसेवाको माध्यमबाट सकारात्मक परिवर्तन ल्याउन स्यानिटरी प्याड वितरण गरिएको एक प्रतिनिधि मनोहर पोखरेलले बताए।

गजेन्द्रनारायण सिंह अस्पताल र ग्रिन नेपालबाट उपलब्ध स्यानिटरी प्याडको पोका पाँच सय महिला, किशोरीलाई वितरण गरिएको ग्रिन नेपालका कोषाध्यक्ष दीपक दासले जानकारी दिए। सामूहिक मानवताको शक्तिलाई प्रकाश पार्न र महिनावारी सम्बन्धमा रहेको गहिरो अन्धविश्वास, डर र मौनता तोड्न सडकपेटीमा बसेर स्यानिटरी प्याड वितरण उनले बताए।

बढ्दो असमानताले उत्पन्न समस्याको साझा समाधान खोज्न मिलेर काम गर्न आवश्यक छ भनी सन्देश दिन राज्यका प्रतिनिधि र गैरराज्य संघसंस्थाका स्वयंसेवक ऐक्यबद्ध भएर अभियानमा सहभागी रहेको सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लालदासले बताए।

विश्वास, नम्रता, सम्मान र समानताको स्थितिबाट एकअर्कालाई समर्थन गर्दै विकासका लागि ऐक्यबद्ध हुन स्वयंसेवक दिवसले विश्वभरका स्वयंसेवकलाई आह्वान गरेको छ। स्वयंसेवाबाट आउने आनन्द र सन्तुष्टि अतुलनीय रहेको कार्यक्रममा सहभागी लायन्स क्लबका सेकेन्ड डिस्ट्रिक गर्भनर शंकर शारदाले बताए।

राजविराजमा १६ दिने अभियानअन्तर्गत विभिन्न संस्थाहरूको संयोजनमा मूल समारोह समितिले र्‍याली, गोष्ठी, अन्तर्क्रिया, विद्यार्थी सचेतना, कविता र वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गर्दै आएको छ।

यसैगरी समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वयंसेवकको ठूलो भूमिका छ। स्वयंसेवा मानवताको पर्याय पनि हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्ले, राजविराज नगरपालिकाकी अनिता चौधरी, सामुदायिक सेवा केन्द्रका सचिव सञ्जय शर्मा, सहसचिव धीरेन्द्र दास, आसमान नेपालकी शान्ता सिंह, हेल्प मधेसका अध्यक्ष प्रमोद शर्मा, पत्रकारलगायतको सहभागिता थियो। रासस

Advertisement
Advertisement
Advertisement