Categories समाचार साहित्य कला

‘अनुवादक नेपालमा रातारात जन्मिन्छन्’

Advertisement

नेपालअखबार, पोखरा । कोही मान्छे चर्चामा आउनुपर्छ त्यसबारे रातारात पुस्तकसम्म निस्किन्छ । त्यसैले अनुवादक उज्ज्वल प्रसाईं भन्छन्, ‘अनुवादक र जीवनीकार रातारात जन्मिन्छन् नेपालमा । राजा ज्ञानेन्द्र मर्नेबित्तिकै कोही एउटा जीवनीकार जन्मिहाल्यो । कोही मान्छे पपुलर भए त्यसको पनि जीवनी अनुवद हुन्छ अनि बजारमा आइहाल्छ ।’
फेवाताल किनार बाराही घाटमा जारी नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार साँझ ‘अनुवादको सन्चो–विसन्चो’ सेसनमा बोल्दै उनले मृत्यु केन्द्रीत अनुवाद बिक्ने गरेको भन्दै थकथकी सुनाए । प्रसाईंकाअनुसार राम्रो अनुवादक जन्माउन नेपालमा त्यसबारे सिकाउने संस्था नहुँदा समस्या पैदा भएको छ । ‘के बिक्छ, के बिक्दैन निर्धारण गर्ने कुरा धेरै हुन्छन् । तर, त्यस्तो किन हुन्छ ? मान्छेको हातमा त्यस्ता चिज किन बढी हुन्छन् ? राम्रो चिज किन बन्दैनन् भन्ने प्रश्न संस्थासँग जोडिन्छ,’ उनी भन्छन्, ‘हामीसँग राम्रो अनुवाद गर्न स्रोत दिने, गुणस्तर नियन्त्रण गर्ने, अनुवादकलाई प्रेरणा दिने संस्था छैनन् । एउटै व्यक्तिबारे ५० वटा अनुवाद निस्किए पनि यस्तो भए एउटा अनुवादले स्थान पाउँछ ।’
विनोदविक्रम केसी सहजकर्ता रहेको त्यही सेसनमा अरु दुई अनुवादक सगुना शास र गनेस पौडल वक्ता थिए । प्रसाईं, शाह र पौडेलले भाषा, पारिश्रमिकसहित अनुवादका सुःख–दुःखका किस्सा सुनाए ।
अनुवादक पौडेलले नेपाली पुस्तकको अनुवाद विश्व बजारमा पु¥याउन आवश्यक रहेको बताए । ‘अनुवादसँग के जोडिएको छ भने छापा उद्योग छ । र, त्यसको अन्तिम कारिन्दा लेखक हो । नेपाली किताब अंग्रेजीमा अनुवादित भएर विश्वमा जान दिँदैनन् । भएको अनुवाद अब त्यस्ता बजारको पनि हुन जरुरी छ,’ उनले भने ।
पुराना–पुराना विषयवस्तु समेटिएका पुस्तकका अनुवाद भइरहेको भेटिन्छन् । तर, पौडेल अनुवादलाई दुई समाजको संवादको रुपमा मान्ने हो भने त्यस्तो गर्नु ठिक मान्दैनन् । समकालीन लेखकका पुस्तक अनुवाद गर्दा नबुझेका विषय साक्षात्कार गर्न पाइने भएकाले त्यसमा जोड दिनुपर्ने पौडेल बताउँछन् । ‘एउटा समाजले अर्को समाजसँग संवाद गर्नुपर्छ भन्ने अर्थबाट अनुवादको महत्व हो भने क्लासिक (पुरानो)तिर कुद्नु हुँदैन । समकालीन लेखकका कृति अनुवाद गरिनुपर्छ । समकालीन लेखक स–शरीर उपस्थित हुन्छ,’ उनले भने ।
सगुना शाह अंग्रेजी र फ्रेन्च पढाउँछिन् । अन्य भाषामा अनुभवी भएकाले नेपालीमा बोल्दा, लेख्दा भाषिक त्रुटि नगर्न धेरै समय अनुवादमा खर्चने गरेको उनले सुनाइन् । ‘नेपाली पनि बोल्नु हुन्छ र भन्ने प्रश्न सुनेको छु । नेपालीमा लेख्ने भन्ने कुरा त मबाट सम्भवना नै छैन भन्ने हुन्थ्यो । त्यो बाहिरको मान्छेलाई लाग्ने कुरा हो । अंग्रेजी र फ्रेन्च पढाउने भएकाले म मिठो नेपाली बोल्दिनँ होला भन्ने लागेको थियो,’ उनी भन्छिन्, ‘लेख्नेबेला भाषाकै कारण त्रुटि हुनसक्छ भन्ने थाहा थियो । त्यो हुँदा धेरै समय लगाएर अनुवाद गरेँ ।’
अनुवाद गर्दा मिहिनेत र समय लाग्छ । अनुवादककाअनुसार विदेशी पुस्तक अनुवाद गर्दा त्यहाँ प्रयोग भएका शब्दको अर्थ नबुझ्दा पनि हप्तौँसम्म अड्चन आइपर्छ । तर, पारिश्रमिक देख्दा त्यसमा जाँगर नचल्ने प्रसाईं बताउँछन् । ‘राम्रो अनुवादकले मिहिनेत गरे धेरै परिश्रम लाग्छ । कहिले एउटै प्यारेग्राफले एक हप्ता रिंग्याउँछ । न्याय कसरी गर्न सकिन्छ भन्ने सोचिन्छ,’ उनी पारिश्रमिकबारे भन्छन्, ‘पारिश्रमिकका हिसाबले अनुवाद गरौँगरौँ कहिल्यै लागेन । पारिश्रमिक सम्झियो भने अल्लि मूल्य भएको किताबको अनुवाद गरौँ भन्ने जाँगर भरभराएर आउँदैन ।’
नेपाली र अंग्रेजी भाषा सुधार्ने प्रयास विद्यालय स्तरबाटै हुनुपर्ने प्रसाईंको मत छ । त्योसँगै भूगोलअनुसार स्थानीय भाषा पनि अध्यापन गराउन सक्नुपर्ने उनको भनाइ छ । स्थानीय भाषा सिकाउँदा र त्यसमा अनुवाद गर्दा पाठक बढ्ने प्रसाईंको विश्वास छ ।

Advertisement
Advertisement
Advertisement

Advertisement