Categories समाचार समाज

श्रीमतीमाथि बञ्चरो हानेर भागेका श्रीमान मृत फेला

Advertisement

नेपालअखबार, नुवाकोट। नुवाकोटमा श्रीमतीमाथि बञ्चरो प्रहार गरी भागेका श्रीमान मृत अवस्थामा फेला परेका छन्।

ककनी गाउँपालिका-२ चित्रेस्थित ३९ वर्षीय काले भन्ने माइला तामाङको शव मंगलबार फेला परेको हो।

Advertisement

वडा नम्बर १ नयाँ बस्तीस्थित चाउथे जाने भित्री सडकमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले जानकारी दिए।

Advertisement

डिएसपी खड्काका अनुसार उनले आफ्नी श्रीमतीको हत्या गर्ने प्रयास गरेका थिए।

सोमबार दिउँसो साढे ३ बजे तामाङले आफ्नी ३५ वर्षीया श्रीमती निरमाया तामाङसँग झगडा गरेका थिए। उनीहरूबीच घरायसी विवादका कारण झगडा भएको थियो।

त्यही क्रममा बञ्चरोले निरमायाको टाउकोमा प्रहार गरी भागेका थिए।

घाइते भएकी निरमायाको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

यता फरार भएका माइला तामाङको प्रहरीले खोजी गरिरहेको थियो। त्यहीक्रममा मंगलबार उनको शव फेला परेको डिएसपी खड्काले बताए।

‘बाहिरी चोट देखिन्न। तर श्रीमतीमाथि बञ्चरो प्रहार गरेकाले कसैले उनीमाथि कुटपिट गरेर हत्या गरेका हुन् कि भन्ने अनुमान छ,’ उनले भने।

मृतक माइलाको शव पनि टिचिङ अस्पतालमै राखिएको छ। उनको पोष्टमर्टम गर्न बाँकी रहेको हुँदा मृत्युको कारण पनि त्यसपछि मात्रै थाहा पाइने डिएसपी खड्काले बताए।

यस्तै हत्या गरेको आरोपमा दुई जना शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरूलाई पनि मंगलबार नै पक्राउ गरेको हो। तर हाल उनीहरूसँग सोधपुछ गर्न नपाएको डिएसपी खड्काले बताए।

‘बालाजु नजिक भएकाले उनीहरूलाई हिजो पक्राउ गरी त्यहीको हिरासतमा राख्यौं। आज कार्यालयमा ल्याइपुर्‍याउँछ,’ उनले भने, ‘त्यसपछि मात्रै हत्याको कारण खुल्छ।’

Advertisement
Advertisement
Advertisement