Categories कृषि मधेश प्रदेश समाचार

गण्डकी प्रदेशमा धान उत्पादन घट्यो

Advertisement

नेपालअखबार, गण्डकी । गण्डकी प्रदेशमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । गत वर्षको तुलनामा तीन दशमलव ७४ प्रतिशतले धान कम फलेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार यसपालि तीन लाख ९१ हजार एक सय २१ मेट्रिक टन धान उत्पादन भएको छ ।  गत वर्ष चार लाख छ हजार तीन सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो । धानको उब्जाउ क्षेत्र पनि घटेको पाइएको छ । अघिल्लो वर्ष एक लाख १२ हजार दुई सय २७ हेक्टरमा धान लगाइएकामा यस वर्ष जम्मा एक लाख छ हजार तीन सय ८० हेक्टर धानखेतीले ओगटेको थियो ।

अन्य प्रदेशको तुलनामा यहाँ धानको उत्पादन र क्षेत्रफल दुवै घटेको तथ्याङ्कले देखाउँछ । देशभर समग्रमा धान उत्पादन बढ्दा गण्डकी प्रदेशमा घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिँदा उत्पादन घटेको प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए । “खेतीयोग्य जग्गामा बजारीकरण तीब्र छ, जग्गा बाँझिने क्रम पनि उस्तै छ, उत्पादन घट्नुको मुख्य कारण यही हो”, उनले भने, “प्लटिङले गर्दा कति उब्जाउ जमिन नासियो, कति ठाउँमा सडक बन्यो, यसको एकिन तथ्याङ्क भने हामीसँग छैन ।” प्रमुख रेग्मीले हेर्दाहेर्दै धान फल्ने ठूल्ठूला फाँट बस्तीले ढाकेको बताए ।

Advertisement

खेती गर्ने जमिनमा धमाधम घर ठड्याउने प्रवृत्तिले देशलाई खाद्यान्नमा झन्झन् परिनिर्भर बनाउँदै लाने उनको भनाइ छ । धान कम फल्नुमा क्षेत्रफल घट्नु मुख्य कारण भए पनि अन्य कुराले पनि उत्पादनमा प्रभाव पार्ने प्रमुख रेग्मीले बताइन् । “प्रतिकूल मौसम, मल अभाव, कमसल बीउबिजन जस्ता कारणले पनि उत्पादन घट्छ, सबै प्रदेशमा धान उत्पादन बढ्दा गण्डकीमा घट्नुले हामीलाई पनि सोचनीय बनाएको छ”, उनले भने, “हाम्रोतिर उन्नतभन्दा बढी स्थानीय जातकै धान लगाइने हुँदा त्यसले पनि उत्पादनमा कमी ल्याउँछ ।”

Advertisement

यस वर्ष किसानले रोपाइँका बेला रासायनिक मल नपाएको गुनासो गरेका थिए । धानमा फूल खेल्ने समयमा भएको बर्सातले पनि क्षति पुर्याएको थियो । बागलुङ नगरपालिका–३ का अगुवा किसान वैकुण्ठ सापकोटाले १८/१९ मुरी धान फल्ने खेतबाट यस वर्ष जम्मा १० मुरी धान भित्र्याएको बताए ।  त्योबाहेक रोककिरा नियन्त्रण, उन्नत बीउ, मल व्यवस्थापनमा किसानलाई सधैँ चुनौती रहेको उनको भनाइ छ । “बीउ राम्रो भयो, खेतीले मलदेखि राम्रो स्याहारसुसार पायो भने फल पनि बढी दिन्छ”, सापकोटाले भने, “बीउबिजन, खेतीको सीप र प्रविधिमा राज्यले पनि किसानलाई सघाइरहनुपर्छ ।”

धानको उत्पादकत्व भने यस वर्ष सबै प्रदेशमा बढेको पाइएको छ । गण्डकीमा पनि एक दशमलव ५५ प्रतिशतले उत्पादकत्व वृद्धि भएको छ । उन्नत जातका बीउबिजनको प्रयोग, खेती प्रणालीमा सुधारजस्ता कारणले उत्पादकत्व बढ्ने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए ।  उनका अनुसार बागलुङमा यस वर्ष पाँच प्रतिशतले धान उत्पादन घटेको छ । बेमौसमी बर्सातले धान बालीमा क्षति पुग्दा उत्पादन घटेको प्रमुख भट्टराईले बताए । गण्डकी प्रदेशमा बागलुङको गलकोट र बलेवा, गोरखाको पालुङटार, कास्कीको लेखनाथ, स्याङ्जाको आँधीखोला किनार र वालिङ, तनहुँको भिमाद, नवलपपुरको त्रिवेणी र मध्यबिन्दु, पर्वतको फलेवासलगायत क्षेत्र बढी धान उत्पादन हुने ठाउँ हुन् ।

यहाँका किसानले राम, सुनौलोसुगन्धा, लोकतन्त्र, खुमल, सुधारिएको जेठोबुढोलगायत स्थानीय जातको धानखेती गर्दै आएका छन् । वर्षे र चैते गरी दुई याममा धानखेती हुने गरेको छ ।  धान कम उत्पादन हुनेमा गण्डकीपछि बागमती प्रदेश छ । बागमतीमा एक दशमलव ४५ प्रतिशतले उत्पादनमा कमी आएको हो । गत वर्ष पाँच लाख सात हजार सात सय ८९ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष घटेर पाँच लाख चार सय ४६ मेट्रिक टनमा सीमित बनेको छ । बाँकी पाँचवटै प्रदेशमा भने धान उत्पादन बढेको मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी सूदुरपश्चिम प्रदेशमा ३३ दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको छ । सूदुरपश्चिममा गत वर्ष चार लाख ४१ हजार नौ सय १३ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष बढेर पाँच लाख ८९ हजार दुई सय २१ पुगेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा एक लाख २९ हजार चार सय ७३ मेट्रिक टन धान फलेको छ । गत वर्षको तुलनामा भने कर्णालीमा पनि यस वर्ष तीन दशमलव ४६ प्रतिशतले धान उत्पादन बढेको हो । गत आवमा जम्मा एक लाख २५ हजार एक सय ४६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

देशभरमा कूल ५४ लाख ८६ हजार चार सय ७२ मेट्रिक टन धान उत्पादन भएको छ । सो अघिल्लो वर्षको भन्दा छ दशमलव ९४ प्रतिशतले बढी हो । गत वर्ष ५१ लाख ३० हजार छ सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो ।  धान उत्पादन बढे पनि खेती हुने क्षेत्र भने दुई प्रतिशतले घटेको पाइएको छ । गत वर्ष १४ लाख ७७ हजार तीन सय ७८ हेक्टर रहेकामा यो वर्ष १४ लाख ४७ हजार सात सय ८९ हेक्टरमा धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । रासस

Advertisement
Advertisement
Advertisement