Categories समाचार

बैदेशिक रोजगारमा जानेलाई ठगीबाट जोगिन काठमाडौं प्रहरीको अनुरोध

Advertisement

नेपालअखबार, काठमाडाैं । बैदेशिक रोजगारी तथा अध्ययनका लागि जानेहरूमाथि ठगी भएको गुनासोपछि त्यसबाट जोगिन प्रहरीले अनुरोध गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै ठगी गर्ने गिरोहहरूबाट जोगिन अनुरोध गरेको हो।

Advertisement

ठगी गर्ने गिरोहले ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा विदेश पठाइने भन्दै विज्ञापन प्रकाशन गर्ने र त्यसमार्फत कुनै पनि व्यक्तिलाई सम्पर्क गर्ने गरेको छ।

Advertisement

परिसरका अनुसार विदेश पठाइदिने भन्दै गिरोहले पीडित व्यक्तिको राहदानी, नागरिकता लगायत कागजात लिने गरेको छ। त्यस्तै विदेश जान रकम आवश्यक हुने हुँदा आफ्नो खातामा रकम जम्मा समेत गर्न लगाउने गिरोहको शैली छ।

त्यसपछि सम्बन्धित खातावाला व्यक्तिको नागरिकता र राहदानी समेत लिएर ती पीडित व्यक्तिकै नामबाट पूरानो सिम हराएको भनी नयाँ सिम लिने गरेको परिसरले जनाएको छ।

त्यसरी नयाँ सिम लिएर बैंकिङ एप्स डाउनलोड गरी ओटिपी कोड लिएर खातामा अनधिकृत रूपमा पहुँच पुर्‍याउने गरेको हो।

पीडितलाई थाहा नै नदिइ खातामा रहेको पैसा निकालेर ठगी गर्ने गरेको पाइएको भन्दै यस्ता ठगी गिरोहलाई निरूत्साहित तथा कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले सचेत रहन अनुरोध गरेको हो।

परिसरले यस्ता घटनाबाट जोगिन कुनै पनि एप्स वा लिंकमा क्लिक नगर्न पनि भनेको छ। त्यस्ता एप्स वा लिंकमा फिसिङ हुने सम्भावना हुने परिसरले बताएको छ।

सामाजिक सञ्जालमा व्यक्तिगत पहिचान नखुलेका व्यक्तिहरूलाई नागरिकता, राहदानी लगायत कागजात नदिन पनि प्रहरीले अनुरोध गरेको छ।

प्रहरीले इबैंकिङ, मोबाइल बैंकिङ सञ्चालनमा रहेको मोबाइल नम्बर अरूलाई चलाउन नदिन भनेको छ।

त्यस्तै बैदेशिक रोजगार तथा अध्ययनमा जाँदा सरकारबाट इजाजत प्राप्त निकायमार्फत मात्रै प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ।

आफ्नो चेक बुकलाई पनि सुरक्षित गरी राख्न र खातामा रकम नभएको अवस्थामा चेक काटेर नदिन पनि अनुरोध गरेको छ।

Advertisement
Advertisement
Advertisement