वीरगञ्ज । बारा र पर्सा लगायत प्रदेश २ का अधिकांश जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । पेट्रोलियम पदार्थ नहुँदा वीरगञ्ज लगायत ग्रामीण क्षेत्रका पेट्रोल पम्पहरू बन्द भएको कारण चालक तथा यात्रुहरूलाई समस्यामा परेको छ । चालक तथा यात्रुहरू अहिले एम्बुलेन्सलगायत अति जरुरी परेकाहरूले भारतको रक्सौलमा पुगी तेल भर्न थालेका छन् ।
बारा पर्सामा रहेका अधिकांश पेट्रोल पम्पहरु पेट्रोल नभएर वितरण गरिरहेको छैन । पेट्रोल भएका पम्पहरूमा भिडभाड र होहल्ला बढी भएकोले प्रहरीको निगरानीमा वितरण गरिएको पनी देखियो । यस बिषयमा नेपाल पेट्रोलियम डिलर एसोसिएशनका अध्यक्ष बिनोद चौरसियासँग बुझ्दा २ दिनदेखि यस भेगमा इन्धन सकिएको बताए ।
आयल निगमका निर्देशक दीपक बरालको निर्देशनमा अमलेखगंज डिपोबाट ८० प्रतिशत इन्धन काठमाडौंलगायत अन्य पहाडी जिल्लामा दशैंको बेला पठाएको चौरसियाले बताए । डिपो खाली रहेकोले अमलेखगंजबाट तेल वितरण बन्द भएको उनले बताए ।
दशैंको कारण कर्मचारी बिदामा रहेकाले भारतबाट इन्धन आएपछि तराईका जिल्लाहरूमा आपूर्ति हुने बताए ।






