पर्सा । लोकतान्त्रिक समाजवादी पार्टिका वीरगन्ज महानगर अध्यक्ष ओम प्रकाश सरार्फ दिक्षित भएका छन्। अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस (IPJ), स्वीस सरकार विकास सहयोग (SDC) र काठमाडौंस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजना तथा दि एसिया फाउण्डेसनको सहयोगमा सञ्चालित एक वर्षे कार्यक्रमको सन् २०२०–०२१ को चौथो सत्रमा नेता सरार्फले राष्ट्रिय युवा नेतृत्व सम्बन्धिअध्ययन पुरा गरेर दिक्षित भएका हुन्।
सो अवसरमा “राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम”काे तेस्रो ब्याच अन्तरगतका २२ जना सहभागीलाई संघीय सांसद नवराज सिलवाल, नेपालका लागि इजरायली उपराजदूत ताल स्वार्जम्यान, सामाजिक अभियन्ता तुलसालता अमात्य, काठमाडौंस्थित स्वीस राजदूतावासका प्रतिनिधि श्रद्धा रायामाझी, प्रतिज्ञा बास्कोटा सिंखडालगायतले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा ब्याच प्रदान गरेका थिए।
राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम काठमाडौंस्थित लीडरशिप एकेडेमी र अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस -University of San Diego, Kroc School & Kroc Institute for Peace and Justice (IPJ र स्वीस सरकार विकास सहयोग (SDC) को संयुक्त आयोजनामा सञ्चालित एक वर्षे कार्यक्रम हो । सन् २०१८ मा सुरु भएको यस कार्यक्रममा देशका सातवटै प्रदेशबाट यूवा नेताहरु सहभागी छन् । विभिन्न राजनीतिक पार्टीका युवा नेता, स्थानिय तहका प्रमुख तथा अन्य जनप्रतिनिधिहरु, सामाजिक अभियन्ता, अधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु यसमा छनोट भएका थिए । देशको पूर्वदेखि पश्चिम तथा पहाड, हिमाल र तराई तीनै क्षेत्रबाट २५ देखि ४० वर्षसम्मका सहभागी छनोट गरिएको छ ।
प्रशिक्षार्थीहरुलाई सहयोग तथा मार्गदर्शनका लागि अनुभवी नेता तथा विशेषज्ञ मार्गदर्शकहरुकोे एक टिम पहुँचमा हुनेछ । साथै युवा नेता–नेतृहरुको कामलाई अझै प्रभावकारी बनाउन सुरक्षा विशेषज्ञ पूर्व आईजीपी ध्रुवबहादुर प्रधान, कानुनी विशेषज्ञ वरिष्ठ अधिवक्ता अवधेशकुमार सिंह र सञ्चार विशेषज्ञ निरञ्जन अधिकारी रहेका छन्।
नेपालका युवा नेतृत्वलाई अझै प्रभावकारी बनाउन र उनीहरुमा विकसित भइरहेको नेतृत्व क्षमताको विकास, विस्तार र अभिवृद्धिका लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस प्रशिक्षणात्मक कार्यक्रमले युवा नेतृत्वको अग्रसरतामा गाउँ तथा समाज परिवर्तनका लागि भइरहेका प्रयासहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तथा समुदायमा यी कार्यक्रमको ठूलो प्रभाव सिर्जना गर्न मद्दत गर्दछ । यस कार्यक्रमले समुदाय तथा सरकारी निकायसँग अझै प्रभावकारी रुपमा काम गर्नका लागि युवा नेतृत्वलाई मिडियासँग संलग्नता, सामुदायिक समस्याहरुको वकालत, तथा सम्बोधनजस्ता विविध विषयमा तालिम प्रदान गर्छ । यस कार्यक्रममा देशको विभिन्न क्षेत्र, वर्ग, लिंग, विविध जातजाति तथा भिन्न राजनीतिक मूल्यमान्यता बोकेका प्रशिक्षार्थी सहभागी रहेका छन् ।







