वीरगञ्ज । शुक्रवार बिहान २ घण्टाको अवधिमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जको ईनर्वामा शुक्रवार बिहान ८ बजे देखि १० बजेसम्मको अवधिमा सय जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै भारतीय नागरिक रहेका छन् । ३५ देखि ६० वर्ष उमेर समूहका रहेको ईनर्वास्थित हेल्थ डेस्क ईन्चार्ज डा. अनिषा महतोले जानकारी दिनु भयो ।
डा. महतोका अनुसार सबै जना घुम्ने र बेलुका फर्किने अभिप्रायले नेपाल प्रवेश गर्न लागेका थिए । कोभिड पुष्ठि भएका ९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका थिए । खोप लगाएपछि संक्रमण हुँदैन भन्ने भ्रम नपाली स्वास्थ्य सतर्कता अपनाउन पनि डा. महतोले आग्रह गरेकी छिन् ।
यसअघि बिहिवार ३ सय ६० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्ठि भएको थियो । काठमाडौँ, नवलपु, चितवनका १÷१ जना र ३ जना भारतीय गरी ६ जनामा संक्रमण पुष्टि भएको थियो । दैनिक औषतमा साढे ४ सय जनासम्मको परीक्षण हुने गरेको छ । संक्रमण पुष्टि भएकाहरु सबैलाई लक्ष्ण देखिएको छैन । उनीहरुलाई होम आइसोलेट गर्ने गरी परिवारसँग समन्वय गरेर गाडी रिजर्भ गरी पठाउने गरिएको डा. महतोले बताइन् ।
हेल्थ डेस्कमा अहिले १२ जना कर्मचारी कार्यरत छन् । उनीहरुले पालैपालो गरेर समय विभाजन गरी काम गरीरहेका छन् । कर्मचारीको लागि खानेपानीको अभाव र शौचालयको समस्या रहेको डा. महतोको भनाई छ ।
यसअघि नाकामा भवन निर्माणका लागि सरकारले बिनियोजन गरेको ५० लाख रुपैयाँ पनि जग्गा नपाएपछि फ्रिज भएको हुँदा समस्या भएको वीरगञ्ज महानगरपालिका स्वास्थ्य शाखाका रितेश जैसवालले बताए ।
सिरियस केस आएपछि नारायणी अस्पतालसँगको समन्वयमा पठाउने गरेको हुँदा अहिलेसम्म सिरियस केस नआएको जैसवालको भनाई छ । ठूलो संख्यामा संक्रमण पुष्ठि भएमा भन्सारमा निर्मित १ हजार जना अटाउने क्षमताको होल्डिंग सेन्टरमा राख्न सकिने उनले बताए ।







