बीरगन्ज । बीरगन्ज महानगरपालिका नगर प्रमुख विजयकुमार सरावगीले आगामी शैक्षिक सत्रदेखि महानगरका विद्यालयमा भोजपुरी भाषा पनि पढाउने बताएका छन् ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा बीरगन्जमा आयोजित बहुभाषिक कवि गोष्ठी तथा पुस्तक विमोचन कार्यक्रममा उनले भोजपुरी भाषा पढाउन छिट्टै नगरपालिकाले निर्णय गर्ने बताए ।
‘आउने शैक्षिक सत्रदेखि विद्यालयमा स्थानीय भाषाको रुपमा भोजपुरी भाषा पढाइ सुरु हुन्छ । १०० नम्बर थप हुने गरी स्थानीय भाषालाई जोड्नुपर्छ भनेर यसबारे शैक्षिक प्रशासन महाशाखालाई भनिसकेको छु । छिट्टै अब निर्णय गरेर कार्यान्वयनमा लैजान्छौं’ उनले भने ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर भोजपुरी प्रतिष्ठान बीरगन्जले सोमबार बहुभाषिक कवि गोष्ठी कार्यक्रम राखेको थियो ।
कार्यक्रममा भोजपुरी कला, भाषा, सँस्कृति, साहित्यमा योगदान पुर्याएबापत सलिम मिया, शम्भु पाण्डे र राजदेव दास तत्वालाई ५१ हजार रुपैयाँ राशीको लोकरंग भोजपुरी पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै, मुकुन्द आचार्यलाई ५१ हजार राशीकै नेपाल राष्ट्रिय भोजपुरी पुरस्कार र भारत रक्सौलका साहित्यकार प्राध्यापक डा. अरुणेश नीरनलाई पण्डित दीप नारायण मिश्र अन्तर्राष्ट्रिय भोजपुरी सम्मान प्रदान गरिएको भोजपुरी प्रतिष्ठानका सचिव रितेश त्रिपाठीले बताए । अन्तर्राष्ट्रिय भोजपुरी सम्मान पुरस्कारको राशी एक लाख रुपैयाँ छ ।







