जनकपुर । धनुषामा भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । शनिवार दिउँसो एक युवकको करेन्ट लागेर र अर्का एक बालकको डुबेर मृत्यु भएको हो । जनकपुरधाम उपमहानगरपालिका ११ स्थित लक्षमण अखडा बस्ने १२ वर्षीय कर्ण कुमार दासको अरगजा पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दासलाई पोखरीमा डुबिरहेको देखेपछि स्थानीयवासीले उद्दार गरेका थिए । उद्दारलगत्तै प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदा गर्दा उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाको मुखियापटी मुसहरनिया गाउँपालिका ६ वैरियाका २६ वर्षीय ललित यादवको करेन्ट लागेर मृत्यु भएको छ । यादवलाई आफ्नै घरमा जडान गरेको मोटरबाट पानी तानेर भैँसीलाई नुहाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर सख्त घाइते भएका उनलाई उपचारका लागि जानकी हेल्थ केयर जनकपुरमा पुर्याइएको थियो । अस्पताल पुर्याए लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।







