Categories समाचार

बढुवामा पेलिएका तीन डीआईजीको लोकसेवामा उजुरी

Advertisement

काठमाडौं । नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) बढुवा सिफारिस वरिष्ठता र कार्यक्षमताका आधारमा नभई राजनीतिक भागबन्डाका आधारमा भएको भन्दै असन्तुष्ट बनेका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू लोकसेवा आयोग पुगेका छन् ।

नेपाल प्रहरीका तीन जना डीआईजीलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सो सिफारिसप्रति असन्तुष्ट रहेका डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश अर्यालले सिफारिसविरुद्ध आइतबार लोकसेवा आयोगमा उजुरी दिएका हुन् ।

Advertisement

समितिले डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न भन्दै सिफारिस गरेको थियो । सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री पनि असन्तुष्ट रहँदै आएका छन् । क्षत्री आफैं बढुवा समितिका सदस्य सचिव हुन् । उनले बढुवाको निर्णय हुँदै गर्दा नै अव्यावहारिक निर्णय भन्दै असन्तुष्टि जनाएको स्रोतले भनेको छ ।

Advertisement

यसैगरी, बढुवामा नपरेका डीआईजी कार्कीले आफू अन्यायविरुद्ध अदालतको ढोकासम्म जाने जानकारी दिए ।

प्रहरी प्रधानकार्यालयले भने एआईजी बढुवामा डीआईजी अर्याल वा ईश्वरबाबु कार्कीमध्ये एक जना र धिरजप्रताप सिंह र उत्तमराज सुवेदीलाई बढुवा सिफारिस गर्न खोजेको थियो । तर, गृह सचिव टेकनारायण पाण्डेले सिंहबाहेकका दुई डीआईजीलाई बढुवामा पन्छाएपछि प्रहरी संगठनभित्र नैराश्यता बढेको छ ।

बढुवा सिफारिसमा परेका पन्त हालका आईजीपी क्षत्रीसँगै १९ वैशाख २०७९ मा अनिवार्य अवकाशमा जाँदै छन् । उनलाई प्रहरी संगठनबाट बिदा हुने समयमा सरकारले खुसी बनाउन एआईजी बढुवा गरेको हो ।

यसैगरी, वरीयताका आधारमा डीआईजीहरू अर्याल, प्रकाशजंग कार्की, पन्त, ईश्वरबाबु कार्की, सिंह, वसन्तकुमार लामा, रवीन्द्र धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसीलगायत प्रतिस्पर्धी थिए ।

धानुक माओवादी केन्द्रको जोडबलमा एआईजी सिफारिस भएका हुन् । धानुकलाई एआईजी सिफारिस गरेको विषयमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र पनि असन्तुष्टि देखिएको छ । उनलाई अर्थमन्त्री जनार्दन शर्माले एआईजी सिफारिस गर्न जोडबल गरेका हुन् ।

कांग्रेसका केही नेताहरूले भने लुम्बिनी प्रदेशमा एमाले महासचिव शंकर पोखरेलले मुख्यमन्त्रीको शपथ लिनेबेला कांग्रेस प्रमुख सचेतक निर्मला क्षत्रीसहितका प्रदेश सांसदलाई दुव्र्यवहार गरेको बताउँदै धानुकलाई बढुवा नगर्न गृहमन्त्री बालकृष्ण खाँणलाई दबाब दिएका थिए ।

बढुवामा परेकामध्ये केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत सिंहका नाममा भने असन्तुष्टि छैन । उनी प्रहरी संगठनभित्र व्यावसायिक र स्वच्छ छविका प्रहरी अधिकारीमा गनिन्छन् । तर, बढुवामा परेका पन्त र धानुकको नाममा भने तीव्र असन्तुष्टि देखिएको हो । बढुवा सिफारिसमा परेकाहरूको बढुवाको निर्णय भने भइसकेको छैन । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *