काठमाडौं । आफ्ना व्याचीहरु एआईजीको दौडमा लागेका बेला एक एसएसपीले भने राजीनामा दिएर राजनीतिमा लाग्ने निर्णय गरेका छन् । आउदो स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नेपाल प्रहरीका एसएसपी गोविन्द शाहले राजीनामा दिएर राजनीतिमा लाग्ने निर्णय गरेका हुन् ।
स्रोतका अनुसार गत फागुन १० गते शाहले दिएको राजीनामा स्वीकृत भएको भइसकेको छ । जागिर अवधि अझै १३ महिना जति बाँकी रहँदा शाहले राजीनामा दिएर मेयरमा उठने निर्णय गरेका छन् । उनले २०४९ चैतमा प्रहरी इन्सपेक्टरबाट सेवा थालेका हुन् । उनको इन्सपेक्टरका ब्याची विश्वराज पोखरेल लगायतका अधिकारीहरु नेपाल प्रहरीको भावी आईजीपीको लाइनमा छन् ।
वैशाख १८ मा उनका इन्सपेक्टर ब्याचीमध्ये एकले नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् । शाहले नायब महानिरिक्षक (डीआईजी) मा बढुवा हुने सम्भावना नदेखिएको भन्दै फागुनमा राजीनामा दिएर धुनषातिर लागेका थिए । स्थानीय चुनावमा धनुषाको विदेह नगरपालिकामा उनले पालिका प्रमुखमा उठ्ने तयारी गरिरहेका छन् ।
शाहले चुनावको तयारीमा लागिरहेको बताए । शाह २०७७ पुसमा एसएसपीमा बढुवा भएका थिए । उनका बुबा सिताराम साह नेपाली कांग्रेस धनुषामा पूर्व उपसभाति हुन् । राजिनामा दिनुअघि संघीय प्रहरी इकाई धरानमा कार्यरत थिए । निर्वाचनको मिति घोषणा हुनसाथ उनले राजिनामा दिएर धनुषातिर लागेका हुन् ।







