पर्सा । सांसद प्रदिप यादवले मेयर सरावगीलाइ एमालेको टिकटबाट जिताएर देखाउन चुनौती दिएका छन्। एमालेको गुनगान गाउँदै हिँड्नुले मधेशी जनताको मतको अपमान भएको ठहर गर्दै सांसद यादवले जितेरै देखाउन आग्रह गरे ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) विजय कुमार सरावगीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने सांसद यादवको भनाई छ । तत्कालिन संघिय समाजवादी फोरमबाट मधेशी जनताकै मतबाट मेयर बनेर अहिले एमालेको गुनगान गाउँदै हिँड्नुले मधेशी जनताको मतको अपमान भएको सांसद यादको ठहर छ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य यादवले मधेशी दलबाट मधेशी जनताकै मतबाट जितेको मेयर पदमा अहिलेसम्म पनि रहीरहनुले मेयर सरावगीको नैतिकता गुमेको बताए । सांसद यादवले भने, ‘यदि हिम्मत छ भने तुरुन्त पदबाट राजीनामा दिएर निर्वाचनमा एमालेको मतबाट जितेर मेयरमा आएर देखाउनु नी । मधेशी जनताकै मतबाट जितेको पदमा अहिलेसम्म बस्ने अनि मधेशविरोधी पार्टीको गुनगान गाउने ?’
कहिलै पनि छलफल नगर्ने अनि पार्टीविपरितका गतिविधि गर्ने र पार्टीभित्रबाट असहयोग भयो भन्दै हिँडेर मतको अवमूल्यन गर्ने व्यक्तिले मेयर पदमा बस्न नहुने सांसद यादवको तर्क छ । यदि एमालेकै गुनगान गाउने हो भने मधेशी जनताको मतबाट जितेको पदबाट राजीनामा दिनुपर्ने यादवको कथन छ ।







