पर्सा। तराई–मधेसबासीले शुक्रबार बिहान उदाइरहेको सूर्यलाई अर्घ दिएर चैत (चैती) छठको समापन गरेका छन् । व्रतालुहरुले बिहीबार साझ अस्ताइरहेको सूर्यको आराधना गरेका थिए ।

वर्षमा दुई पटक गर्मीको चैतमा र जाडोको असोज वा कार्तिकमा षष्ठीको साझ एवं सप्तमीको बिहान सम्पूर्ण पूजा सामग्री सहित सूर्यको उपासना गरेर यो लोकपर्व मनाइन्छ ।

जाडो यामको छठ जस्तै चैते छठमा पनि पहिलो दिन नुहाएर खाने (नहा खा) दोस्रो दिन साँझ घरमै पूजा (खरना), तेस्रो दिन साँझ र चौंथो दिन बिहान पायक पर्ने जलाशय किनारमा पुगेर सूर्यलाई अर्घ दिइन्छ । जाडो मौसमको छठ झैं यसमा त्यति सारो कृत्रिम साजसज्जा नगरी सादगी एवं शालीनताका साथ मनाइन्छ ।

दुई दिवसीय मुख्य धार्मिक अनुष्ठानको लागि जलाशय किनारमा घाट बनाइ दिपावली झैं केराको बोटले सिंगारेर दियो बालिन्छ । घरदेखि नदी, खोला र पोखरी किनारसम्म लोक नृत्य, गीत तथा संगीतको रमझम हुन्छ ।

ठेकुवा, भुसुवा, खाजा, पुरी, गेडागुडी, उखु, नरिवल र मौसमी फलफुल चढाइन्छ ।







