वीरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्थानीय तह निर्वाचनका लागि आफनो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाण्डौ स्थित पार्टीको केन्द्रिय कार्यालयमा शुक्रबार दिउँसो लोसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो , सुरेन्द्र झा लगायतको उपस्थितिमा स्थानीय तह निर्वाचनलाइ लक्षित गरि चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो ।
लोसपाको घोषणापत्रमा स्थानीय सरकार (पालिका) लाई भ्रष्टाचारमुक्त बनाउन जनप्रतिनिधिले सम्पत्ती विवरण सार्वजनिक गर्ने विषयमा प्राथमिकतामा राखिएको छ । चुनावी घोषणापत्रमा गुणस्तरीय खानेपानी, वडामा पर्याप्त बजेट छुट्याउने विषयहरु समेटिएका छन् । यसका साथै स्थानीय सरकार (पालिका) ले आफ्नो कर्मचारी आफै भर्ना गर्ने लोसपाको घोषणापत्रमा उल्लेख छ ।
यस्तै लोसपाले सहज र छरितो सरकारी सेवा, नगर सरसफाइ , सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, पर्याप्त चिकित्सक, बालबालिकालाई घरमै नियमित खोप उपलब्ध गराउने, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण गर्ने बुदाँ पनि घोषणापत्रमा समेटेको छ । लोसपाको चुनावी घोषणापत्रमा निशुल्क र व्यवहारिक शिक्षा, स्नातक र स्नातकोत्तरमा छात्रवृत्तीको व्यवस्था गरिने , सडकको छेउमा अनिवार्य वृक्षारोपण गर्ने पनि उल्लेख छ ।







