Categories समाचार समाज

लाहाचोकका ज्येष्ठ महिला समाजसेवीको सम्मानित

Advertisement

नेपालअखबार, पोखरा । वैदेशिक रोजगार मञ्च लाहाचोकको आयोजना र माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लबको समन्वयमा शनिवार लाहाचोकका आमाहरूलाई संयुक्त रूपमा सम्मान गरिएको छ ।
विभिन्न समयमा विभिन्न माध्यमबाट सामाजिक योगदान दिएका १८ जना आमाहरूलाई दोसल्ला, सम्मानपत्र, नगद र बाजागाजासहित सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइराला, गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, पूर्व उपाध्यक्ष कृष्णकुमारी दवाडी, वडाध्यक्ष मधुसूदन अधिकारी, पूर्व वडाध्यक्ष पूर्णबहादुर शाही, लगायतले सम्मान अर्पण गरेका थिए ।
प्रमुख अतिथि कोइरालाले लाहाचोकका आमा र दिदीबहिनीहरूलाई एकै ठाउँमा सम्मानित गर्न पाउँदा आफूलाई एउटा यज्ञको अनुभूति भएको बताइन् । उनले आमाहरू ज्ञानका सागर भएकाले मञ्चले हरका मूर्तिको पूजा गरेर स्तुत्य कार्य गरेको धारणा राखिन् ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतम नेका वडा सभापति रामचन्द्र अधिकारी, नेकपा एमालेका वडाध्यक्ष टेकबहादुर श्रेष्ठ, महेन्द्र माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी, राष्ट्रिय युवा संघ कास्कीका अध्यक्ष पानबहादुर जिसी, कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद्का नेपाल संयोजक विश्वबन्धु थापा, समाजसेवी भगवान शाही, राजेश परियारलगायतले बोल्नु भएको थियो ।
वक्ताहरूले समाजमा आमा सभ्यता र संस्कृति हराउँदै गएकाले त्यसको संरक्षणमा जोड दिनुपर्ने धारणा राखेका थिए ।
सम्मानित आमाहरूमध्येबाट बोल्दै हरिप्रभा पौडेलले विदेशमा रहेका छोराछोरीहरूले कहिले लाहाचोकका आमाहरूलाई, कहिले बाबा र कहिले विशिष्ट प्रतिभाहरूलाई सम्मान गरेर आमाबुबाहरूमा थप जागर बढाउन सफल भएको बताइन् ।
समारोहमा समाजसेवी ज्योति शाही, लाहाचोकमा संगठित रहेका सम्पूर्ण आमा समूहलाई पनि सम्मान गरिएको थियो । साथै समारोहमा अनुशासित समूहका रूपमा उपस्थित हुने आमा समूह, ज्येष्ठ सदस्य र कार्यक्रमलाई सफल पार्न विशेष प्रायोजन गर्ने दातालाई पनि सम्मानित तथा पुरस्कृत गरिएको थियो ।
मञ्चका सहकोषाध्यक्ष सुशील श्रेष्ठले मञ्चले हालसम्म ३५ लाख बढी रकम संकलन गरी विभिन्न समस्यामा परेका लाहाचोकवासी दाजुभाइ, दिदीबहिनी र आमाबुबालाई सहयोग हस्तान्तरण गरेको जानकारी गराए ।
सोही समारोहबीच क्यान्सर पीडित सञ्जय विकको उपचारका लागि मञ्चद्वारा संकलित एक लाख ४२ हजार र स्थानीय आमा समूह तथा समाजसेवीबाट गरी दुई लाख ५० हजार रकम पीडितका बुबालाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रम मञ्चका अध्यक्ष राजु क्षत्री अपुरोको संयोजकत्वमा क्लबका अध्यक्ष बासुदेव ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Advertisement