वीरगञ्ज । वीरगञ्जको वडा नम्बर १४ मा जीर्ण अवस्थामा रहेको नृसिंह मन्दिर पिपरामठलाई पुनःनिर्माण गर्ने महानगरले तयारी गरेको छ ।
पुरातात्विक सम्पदाको रुपमा रहेको यो मठ सरोकारवाला निकायको वेवास्ताका कारण जीर्ण बन्दै गएको छ ।
मठको बिहीबार वीरगञ्जका मेयर राजेशमान सिंहले अवलोकन गर्दै पुरातात्विक सम्पदाको रुपमा रहेको पिपरा मठको पुरानै शैली अनुरुप पुननिर्माण गर्ने गरी काम सुरु गर्ने बताए ।
यसको पुननिर्माणले वीरगञ्जको ऐतिहासिकता झल्कने तथा पर्यटकीय गतिविधि पनि बढ्ने भएकाले पुरानै शैली अनुरुप पुननिर्माण गर्दै व्यवस्थित बनाउन महानगरले काम गर्ने उनको भनाइ थियो ।
मठ गुठी संस्थान अन्तर्गत रहेको भए पनि वीरगञ्जकै सम्पत्ती रहेकाले यसको संरक्षण र संवर्दन महानगरले गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।
मठ परिसरमा रहेको नृसिंह मन्दिर देशैभरमा वीरगञ्जमा मात्रै रहेकोले पनि यो मठको छुट्टै ऐतिहासिकता रहेको स्थानीय इश्वर यादव बताउँछन् ।
मठ वि.सं.१९४५ मा निर्मित मठको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ भने केही भाग अझै पनि दुरुस्त रहेको छ । मठकाे ऐतिहासिकता जोगिने गरी पुरानै शैलीमा पुनःनिर्माण गर्ने जिम्मेवारी महानगरले लिने र यसै वर्षदेखि काम अघि बढ्ने अवलोकनका क्रममा मेयर सिंहले बताए ।







