बारा । जग्गा नाप्ने विषयमा भएको विवाद पश्चातको झडपमा एकजनाको मृत्यु भएको छ ।
बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ६ पटेर्वामा जग्गा नाप्ने विषयमा दुई समूह बीच भएको विवाद पश्चातको झडपमा स्थानीय प्रभु प्रसाद कुशवाहाको मृत्यु भएको हो ।
सोमबार दिउँसो स्थानीय किशोरी कुशवाहा, राम प्रवेश महतो र प्रभु प्रसाद कुशवाहाको समूह बीच जग्गा नाप्ने विषय झडप भएको थियो । झडपमा परेर प्रभु कुशवाहा गम्भीर रुपले घाइते भएका थिए ।
घाइते भएका प्रभुलाई उपचारका लागि वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा ल्याइए पनि उनको उपचारकै क्रममा राती साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रभुको मृत्यु पश्चात प्रहरीले घटनामा संलग्न रहेको आरोपमा किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी राजेश थापाका अनुसार अन्य आरोपित भने फरार रहेका छन् । थापाले घटनाको विषयमा घप अनुसन्धान चलिरहेको जानकारी दिए ।







