Categories समाचार

सावधान, समाजिक सञ्जालमा अरुको फोटो-भिडियो राखे जेल र जरिवाना

Advertisement

काठमाण्डाै । अन्य वा अपरिचित व्यक्तिको भिडियो खिचेर टिकटक बनाउने, फेसबुकमा भिडियो राख्ने जस्ता प्रवृत्ति मौलाएको छ । आफ्नो मनोञ्जनका लागि अरुको भिडियो जथाभावी राख्दा के हुन्छ ?

सम्भवतः प्रयोगकर्ताहरु अनभिज्ञ छन् । अरुको अनुमति नलिई जथाभावी खिचिएका भिडियो यसरी सामाजिक सञ्जालमा अपलोड गर्नु ‘अपराध’ मानिन्छ । ‘यो विद्युतीय अपराध हो,’ सामाजिक सञ्जाल विज्ञ विजय लिम्बू सेनिहाङ भन्छन्, ‘यस्तो कृत्य गर्नेलाई दण्ड जरिवानाको सजाय हुन्छ ।’

Advertisement

कुनै व्यक्तिको फोटो भिडियो उसको अनुमति बिना हाल्यो भने उसको गोपनीयता भंग हुन सक्छ । जसरी कसैको घरमा बिना अनुमति पस्न पाइँदैन, त्यसरी नै कसैको अनुमति बिना उसको फोटो भिडियो पनि राख्न नपाइने सेनिहाङले बताए ।

Advertisement

कसैको अनुमति बिना उसको फोटो भिडियो फेसबुक तथा टिकटकमा राख्न पाइँदैन भन्ने भन्ने कानुन छ । तर यो कानुनको विषयमा कमैलाई मात्र थाहा छ । उनी भन्छन्, ‘यस्तो तस्वीर र भिडियो सामाजिक सञ्जालमा राख्न पाइन्छ, यस्तो पाइँदैन भन्ने जानकारी सरकारी स्तरबाटै दिनु जरुरी छ । यो विषयमा थाहा नभएका कारण नै यस्ता समस्या बढिरहेको छ ।’

एक वर्ष जेल, १० हजार जरिवाना

अर्काको कुनै पनि व्यक्तिगत तस्वीर र भिडियो सामाजिक सञ्जालमा राख्नुअघि उसलाई सोधिएन भने उसको गोपनीयताको हनन् हुने महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनाली बताउँछन् ।

मुलुकी अपराध संहिता ऐन २०७४ को भाग(३ मा व्यक्तिगत गोपनीयता र प्रतिष्ठा विरुद्धको कसुर छ । अनुमति बिना कुनै पनि व्यक्तिको फोटो भिडियो खिच्न वा स्वरूप बिगार्न नहुने भन्ने उल्लेख छ । यस्तो कसुर गर्ने र गराउने व्यक्तिलाई एक वर्षसम्म कैद १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भन्ने उल्लेख भएको मैनालीले बताए ।

‘यो विषयमा अहिलेसम्म धेरै उजुरी त परेको छैन । तर यो विषयलाई साइबर ब्युरोले पनि हेर्ने भएकाले उता पनि उजुरी परेको हुनसक्छ ।’

कानुनमा यस्तो छ व्यवस्था

आफ्नो व्यक्तिगत भिडियो त छँदैछ, अरूको भिडियो समेत खिचेर थाहै नदिई हालिदिने प्रवृत्ति छ यो अपराध हो भन्ने कुराको ज्ञान नै धेरैलाई छैन । कुनै पनि सार्वजनिक स्थलको फोटो भिडियो खिच्दा कोही व्यक्तिको फोटो आयो भने त्यसलाई भने कसुर मानिंदैन । तर कुनै व्यक्तिलाई लक्षित गरेर फोटो भिडियो खिच्न र त्यसलाई तोडमोड गरेर अपलोड गर्न पनि नपाइने अधिवक्ता प्रवीन भण्डारी बताउँछन् । ‘यो प्रतिलिपि अधिकार विपरीत र गोपनीयताको कसुर हो ।’

यस्तो कसुर गर्ने र गराउने व्यक्तिलाई एक वर्षसम्म कैद १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भन्ने उल्लेख छ । तर विद्युतीय माध्यमबाट कसैको गोपनीयता भंग गर्दा भने दुई वर्षसम्म कैद र २० हजारसम्म जरिवाना वा दुवै सजाय हुने उनले बताए ।

यो व्यक्तिवादी फौजदारी हो । त्यसैले यसको उजुरी गर्न आरोप पत्र लिएर अदालत नै जानुपर्ने भण्डारी बताउँछन् । ‘यस किसिमको अपराध व्यक्तिवादी हो भने आफैंले प्रमाण जुटाउनुपर्छ प्रहरीले मद्दत गर्दैन, सरकारवादी हो भने मात्र प्रहरीकहाँ जाने हो ।’

जथाभावी अरूको फोटो भिडियो खिचेर हाल्नु हुँदैन भनेर कानुनमा नै भनिएको छ । तर यो विषयमा धेरैलाई जानकारी छैन, त्यसैले यस विषयमा धेरै जनचेतना र चेतना जरुरी छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *