वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ अलौमा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर, वीरगञ्ज सामुदायिक आँखा अस्पताल, रुंगटा वैलफेयर सोसाइटी र प्रभु अस्पतालको सयुँक्त आयोजनामा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका संस्थापक स्व.सुशील खेतान (टेपु खेतान) को स्मृतिमा निः शूल्क स्वास्थ्य शिविरसँगै निःशूल्क रुपमा औषधी वितरण गरिएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
खेतानका अनुसार निःशूल्क स्वास्थ्य शिविरबाट ३० जना महिलासहित १ सय २० जना लाभान्वित भएका छन् । वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेर यहाँका समाजसेवीहरुले सह्रानीय काम गरेको बताए । यसबाट गरिब एवम् विपन्न परिवार लाभान्वित भएको बताउँदै उनले यसलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
शिविरमा प्रभु हस्पिटलका संजिव कुमार साह, अस्लम अन्सारी लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो भने वीरगञ्ज सामुदायिक आँखा अस्पतालका प्रभात चौरसिया, सिर्जना डाँगी, लगायतले आँखा चेकजाँच गरेको वीरगञ्ज सामुदायिक आँखा अस्पतालका नेत्र अधिकृत महेश सिंह धामीले जानकारी दिए ।
शिविरमा जिल्ला ट्राफि प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुब प्रसाद दाहाल, बोर्डर आउट पोस्ट ड्राइपोर्टका सशस्त्र प्रहरी निरीक्षक सुभाष थापा, रुंगटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुंगटा, युवा अभियानता दिलिपराज कार्की, हण्ड्रेड ग्रुप पर्साका संयोजक बिक्की सर्राफ लगायतको उपस्थिती रहेको थियो ।








