श्याम सरार्फ
वीरगन्ज । “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौमा पुनः आज देखि सञ्चालनमा आएको छ ।
“मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ को पाँचौं हप्ताको पहिलो दिन आईतवार अलौमा सञ्चालन भएको हो । शिविरमा १ सय ७३ जनाले स्वास्थ्य सेवा लिएका छन् । डाक्टरहरूले दिएको सल्लाह अनुसार ३९ जनाले ल्याब सेवा समेत लिएका हुन ।

महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उदेश्यले सञ्चालन गरेको कार्यक्रममा बिरामीको अवस्था हेरी मोबाइल ल्याब बाट तत्कालै रगत परिक्षण गराइ समस्या अनुसार नि:शुल्क औषधी पनि वितरण भइरहेको अभियानमा सहभागी डाक्टर सागर गुप्ताले जानकारी गराए ।
घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि सदरमुकाम धाइरहने अवस्था हटेकोले स्वास्थ्य चेकजाँच गराउन आउने सेवाग्राहीको भीडभाड लाग्ने गरेको वीरगन्ज महानगरपालिकाका आम सञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका सदस्य अमित अग्रवालले बताए ।

खासगरी वृद्धवृद्धा , गर्भवती महिला तथा अन्य स्वास्थ्य समस्या भएका महिलाहरुका लागि सहज बाताबरण रहेकोले महिलाहरू निर्धक्क रुपले उल्लेखनीय सहभागीता सहित कार्यक्रम स्थलमा चेकजाँच गराउन आउने गरेको डाक्टर जिन्नतुन नेशाले बताईन् ।
अभियानको स्वास्थ्यकर्मी समुहमा डाक्टर सागर गुप्ता, डाक्टर उमेश सरार्फ, डाक्टर जिन्नातुन नेसा, डाक्टर अनुभा राय, स्टाफ नर्स शोभा राय, हेल्थ असिस्टेन्ट मेघनाथ सहनी, ल्याब टेक्नेसियन जितेन्द्र प्रसाद पटेल, अरबिन्द कुश्वाहा, अहेव जितेन्द्र साह, दिलिप गुप्ता, अनमी रेखा कुमारी लगायत कार्यालय सहयोगी र नगर प्रहरीहरु रहेको अभियानमा वीरगन्ज महानगरपालिकाका आम सञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका सदस्य अग्रवालले बताए ।








