Categories समाचार समाज

४ विगाहा जग्गा १५ कट्ठामा सिमित भएको भन्दै जग्गा फिर्ता ल्याउन कस्सिए मेयर सिंह

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आदर्शनगरस्थित माइराम पोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरेका भौतिक संरचना हटाउने भएको छ ।

महानगरले माइराम पोखरीको जग्गा भएको स्थानमा भएका संरचनाको निस्सा पेश गर्न सम्बन्धित व्यक्तिहरुलाई पत्र नै काटेर माग गरेको थियो । तर दिएको समयमा एक जनाबाहेक कसैले पनि निस्सा पेश नगरेपछि महानगरको टोली आइतबार सम्बन्धित व्यक्तिकै घरघरमा पुगेर २४ घण्टा भित्र निस्सा बुझाउन आग्रह गरेको छ ।

Advertisement

टोलीले अबको २४ घण्टाभित्र निस्सा नबुझाए पोखरीले ओगटेका जग्गामा बनेका संरचना महानगरले भत्काउने भन्दै तत्काल निस्सा बुझाउन नभए संरचना भत्काएर आफ्ना सामान सुरक्षित ठाउँमा राख्न आग्रह गरेको छ ।

Advertisement

महानगरले पठाएको पत्र अटेर गर्दै निस्सा नबुझाएकाहरुलाई नगर प्रहरी र नक्सा शाखाका कर्मचारीसहितको टोलीले आइतबार घरघरमै पुगेर सम्झाउने काम गरेको र सोमबारबाट भने संरचना भत्काउन सुरु गर्ने महानगरका मेयर राजेशमान सिंहले बताए ।

‘पहिला पत्र पठायाैँ, त्यसलाई अटेर गरेकाले आज स्थलगत रुपमै गएर टोलीले सम्झाउने काम गरेको छ,’ मेयर सिंहले भने, ‘अतिक्रमण गरेर बनेका संरचना अब भोलीबाट भने त्यहाँ महानगर आफैँले हटाउँछ ।’

महानगरपालिकाका मेयर सिंहले झण्डै ४ विगाहा क्षेत्रफलमा फैलिएको जग्गा खुम्चिएर १५ कट्ठामा सिमित भएको भन्दै अब पोखरीको सबै जग्गा फिर्ता ल्याउन पहल थालिएको बताए ।

पहिलो चरणमा माइरामबाट सुरु गरिएको र यसपछि नगर भरि नै अतिक्रमित भूमि फिर्ता ल्याउने अभियान सुरु हुने पनि उनले बताए ।

महानगरका अनुसार आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पस अगाडि पोखरीको जग्गा चार बिघा १३ कट्ठामा फैलिएको थियो । तर, स्थानीयले अतिक्रमण गरी निजी भवन र अस्पताल बनाउन थालेपछि पोखरी खुम्चिएर १५ कट्ठामा मात्रै समेटिन पुगेको छ ।

पूर्व मेयर विजय सरावगीले स्थानीय व्यवसायीसँगको मिलेमतोमा १५ कट्ठामा मात्रै चिल्ड्रेन पार्क बनाएर अतिक्रमणलाई आधिकारीकता दिने काम गरेको यहाँका स्थानीयले आरोप लगाउने गरेका छन् ।

मेयरमा निर्वाचित भएसँगै सिंहले पोखरीको जग्गा फिर्ता गराउने प्रतिबद्धता जनाएका थिए । सोही अनुरुप अहिले धमाधम पोखरीले चर्चेको जग्गाको नक्सा निकालेर त्यसमा अतिक्रमण गरेका संरचनाको निस्सा माग्ने काम भएको हो । अब निस्सा नबुझाउनेका सबै संरचना सोमबारबाट हटाउन सुरु गरिने मेयर सिंहले बताए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *