वीरगन्ज । नेपाल सरकार, वीरगन्ज महानगरपालिका र नगर विकास कोषको संयुक्त लगानीमा शहरको बिचमा बनाइएको चिल्ड्रेन पार्क (बाल उधान) पछिल्लो समय हेरचाहको अभाव र लापरबाहीले जिर्ण बन्दै गइरहेको थियो ।

वीरगन्जबासीको लागि पर्यटकीय क्षेत्रको रुपमा ०७५ सालमा निर्माण गरिएको सो पार्कको उचित व्यवस्थापन हुन नसक्दा घुम्न आउने पर्यटक भन्दा लागूपदार्थ सेवन गर्नेहरुको अड्डाको रुपमा परिणत हुदै गएको थियो ।
केही महिना पहिला सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात् महानगरको जिम्मेवारी पाएका राजेशमान सिंहको सक्रियता र निर्देशन पछि क्रमिक रुपमा बदलिदै छ चिल्ड्रेन पार्क ।

जर जर र रंगरोगन बिना नाममात्रको पार्कमा परिणत हुदै गएको सो पार्कलाई व्यवस्थित र हराभरा बनाउन मेयर सिंहले केही महिना पहिले हरि पोख्रेललाइ जिम्मेवारी दिएका थिए ।
सोही निर्देशनको पाल्ना गर्दै पार्कमा टुटफुट भएको भौतिक संरचनाको मर्मतसम्भार, रंगरोगन, हराभरा, व्यवस्थित र घुम्न लायक ठाउँ बनाउन विभिन्न प्रजातिका मन लोभ्याउने रुख बिरुवा, फुल लगाउने कार्य भइरहेको पोख्रेलले जानकारी गराए ।

पार्क सफा र सुन्दर बनेपछि विहान घुम्न आउने स्थानीयको घुइँचो लागि रहेको छ । विहान ५ बजे देखि ९ बजे सम्म निशुल्क प्रवेशको व्यवस्था मिलाइएको समेत पोख्रेलले बताए ।
देशको प्रमुखद्वार र आर्थिक राजधानी भनेर चिनिएपनि पर्यटकीय स्थल र घुमफिर गर्ने ठाउँको निकै अभाव छ । कहि कतैबाट कुनै सहयोगमा बनेका केहि संरचनाहरु उचित हेरचाह बिना दिनप्रतिदिन तहसनहस हुदै गइरहेको अवस्थामा महानगर र प्रमुख सिंहको सक्रियताले जंगलमा परिणत हुँदै गइरहेको संरचनालाई पुनः पार्कको स्वरुपमा ल्याइदै छ ।

विभिन्न किसिमका फुल, खेल खेल्ने व्यवस्था, थकाइ मार्न बनाइएको बेन्च, व्याम गर्न बनाइएको साधनले चिल्ड्रेन पार्कको सौन्दर्य बढाइ रहेको छ ।
यसैगरी मेयर सिंह निर्वाचित भएको केहि महिनामै पर्यटक भित्र्याउन माईस्थान मन्दिर सौन्दर्यकरण, चिल्ड्रेन पार्क व्यवस्थापन, वर्षौंदेखि बिगि्रएको घण्टाघर नजिकैको मुख्य सडक मर्मत, वीरगन्ज भन्सार अगाडिको सडक मर्मतको लागि पहल, बजारको फोहर व्यवस्थापनमा विशेष ध्यान दिएको देखिन्छन् ।



