Categories राजनीति समाचार

प्रचण्डकाे मिसन- जसरी पनि प्रधानमन्त्री बन्ने !

काठमाडौँ । नयाँ सरकार गठनका लागि छलफल अघि बढेसँगै दलहरूले शक्ति बाँडफाँट भन्दै प्रमुख पदहरूमा दाबी गर्न थालेका छन्। निर्वाचन परिणामबाट प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठुलो दल हुने भएको छ। कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बनाउन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले समानुपातिक वितरण प्रणालीका आधारमा प्रमुख पदहरू बाँडफाँट हुनुपर्ने दाबी प्रस्तुत गर्न थालेका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले आलोपालो सरकारको नेतृत्व गर्नेगरी पहिलो साढे दुई वर्षका लागि प्रधानमन्त्री दाबी गरेका छन्। नेकपा एसले सकेसम्म राष्ट्रपति, त्यो नभए सभामुख दाबी गर्ने भएको छ। माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुला गरी कसरी पार्टी अध्यक्ष दाहाल प्रधानमन्त्री बन्न सक्छन् भन्नेतर्फ ध्यान केन्द्रित गर्न थालेको छ।

Advertisement

सरकार बनाउन कांग्रेस र एमालेलाई माओवादी नै चाहिने भएपछि दाहालले प्रधानमन्त्री पदलाई मुख्य ‘मिसन’ बनाएका छन्। नेकपा एस भने दाहाल एमालेतिर नजिक हुन खोजेपछि कांग्रेससहित हालको गठबन्धनबाटै सरकार बनाउनुपर्नेमा उभिएको छ। ‘माओवादीको स्वभाव मिसन प्रधानमन्त्री देखियो। उसले गठबन्धन छाड्ने अवस्था आउन लाग्यो।

Advertisement

जसले गर्दा हामीले यही गठबन्धनलाई जोगाएर जानुपर्छ भनेर सचिवालय बैठकबाट निर्णय गरायौं’, नेकपा एसका एक पदाधिकारीले भने। माओवादी पदाधिकारी बैठकले आइतबार सरकार गठनका लागि सबै पक्षसँगको सहकार्यलाई खुला गरेपछि नेकपा एस झस्किएको छ। गठबन्धन जोगाएर जानुपर्छ भन्ने लाइनमा रहेको नेकपा एस प्रमुख पदहरू बाँडफाँट र कार्यविभाजन मिलाएर सरकार बनाउनुपर्नेमा दृढ रहेको ती नेताले बताए।

याे खबर नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *