पर्सा । वीरगंज महानगरपालिका वडा नं ६ माईस्थान निवासी ५० वर्षीय सुनीलकुमार अग्रवाल हिजो दिउँसो भारतको पूर्वी चम्पारण, छौडादानो रेलवे स्टेशन क्षेत्रमा मृतावस्थामा फेला परेका छन् ।
वीरगंज–८ घण्टाघर, लिङ्करोडमा रहेको पशुपति इलेक्ट्रिकका सञ्चालक अग्रवाल नियमितरूपमा बिहान प्रात भ्रमणको लागि निस्केको र उनी मृतावस्थामा भारतको छौडादानो रेलवे स्टेशननजीक फेला परेका थिए । दिउँसो १ बजे उनी मृतावस्थामा फेला परेको सूचना वीरगंजमा परिवारजनलाई आएको थियो ।
परिवारका सदस्यहरूले अग्रवाल दैनिकरूपमा बिहान प्रात भ्रमणमा निस्कने र ८ बजेसम्म घर आइपुग्ने गरेको तर आज ९ बजेसम्म घर नआएपछि उनी हराएको सूचना सार्वजनिक गरिएको बताए ।
छौडादानोमा मृत फेला परेका अग्रवाललाई स्टेशन बाहिर चिया खाएर परिसरभित्र योग गरेको अवस्थामा देख्नेहरू पनि छन् । उनी योग गर्दागर्दै चियापसलमैं आधा घण्टापछि लडेको र मृत्यु भएको बताइन्छ ।
जिआरपी रक्सौल थानाका धर्मेन्द्र कुमारले टाउकोमा चोट लागेको हुँदा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । अग्रवालको शवलाई आइतवार नै शल्यक्रियाको लागि मोतिहारी पठाइएको छ । वीरगंजका अग्रवाल के कारणबाट भारतको छौडादानो पुगे र त्यहाँ योग गर्दागर्दै कसरी मृत्यु भन्ने विषयमा अन्योलता छ ।
केहीले बैंकको ताकेताको कारण उनी त्यहाँ गएको र मृत्यु भएको अनुमान गरेका छन् भने कतिपयले जग्गा हेर्न तथा इलेक्ट्रिकको कारोबारी भएकाले त्यहाँ गएको र व्यापारको सम्बन्धमा हत्या भएको पनि हुन सक्ने अनुमान गरिएको छ ।







