काठमाडौं । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० प्रतिशतभन्दा कम मत पाउने ४ हजार २८५ जना उम्मेदवारहरुको धरौटी रकम जफत भएको छ । निर्वाचन आयोगले बुधबार निर्वाचनको परिणाम घोषणा गरेको हो ।
निर्वाचनको परिणाम घोषणा गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याउने ४ हजार २८५ जना उम्मेदवारहरुको धरौटी रकम जफत भएको जानकारी दिए । उनले प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जनाको धारैटी रकम जफत भएको र प्रदेश सभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जनाको धरौटी रकम जफत भएको बताए ।
त्यस्तै प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको निर्वाचनमा १ सिटपनि प्राप्त नगर्ने ४० वटा दलको धरौटी जफत भएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार प्रदेश सभातर्फ भने प्रदेश १ मा ३०, मधेस प्रदेशमा २६, वागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी रकम जफत भएको छ ।
थपलियाले समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा कम्तिमा १ सिट प्राप्त गरी ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएको उल्लेख गरे । त्यस्तै प्रदेश सभामा १ दशमलव ५ प्रतिशत भन्दा बढी मत कटाएर प्रदेश १ मा ६, मधेस प्रदेशमा १०, वागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको उनले स्पष्ट पारे ।
उनले भने, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेबमोजिम प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जना तथा प्रदेश सभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जना गरी जम्मा ४ हजार २८५ जना (७६ दशमलव शून्य ४ प्रतिशत) उम्मेदवारहरूको धरौटी रकम जफत भएको छ ।’
उनेल थपे, ‘त्यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रतिनिधि सभातर्फ बन्दसूची पेस गर्ने ४७ दलमध्ये ४० वटा दल र प्रदेश सभातर्फ प्रदेश १ मा ३०, मधेस प्रदेशमा २६, वागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था बमोजिम यस निर्वाचनबाट ७ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।’
उनले फेरि भने, ‘प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्था अनुसार प्रदेश १ मा ६, मधेस प्रदेशमा १०, वागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ ।’
उनले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको जानकारी दिए । जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको उल्लेख गरे । ५ दशमलव शुन्य ६ प्रतिशत मत भने बदर भएको उनको भनाइ छ ।
त्यसैगरी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको र ५ दशमलव शुन्य ९ प्रतिशत मत बदर भएको बताए । प्रदेश तर्फभने प्रत्यक्षतर्फ १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको र ४ दशमलव शुन्य ७ प्रतिशत मत बदर भएको बताइएको छ ।
प्रदेश सभाको समानुपातिक तर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको आयोगको भनाइ छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएको जानकारी गराएको छ । त्यस्तै प्रदेश सभातर्फ पुरुष ३५० जना(६३ दशमलव ६४ प्रतिशत)र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएको जनाइएको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मंसिर २९ गते प्रतिनिधि सभा निर्वाचन परिणामको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने बताए । त्यस्तै पौष २ गते प्रदेश सभा निर्वाचन परिणामको प्रतिवेदन आयोगका पदाधिकारीहरुको उपस्थितिमा सातवटै प्रदेशका प्रदेश प्रमुखहरुलाई बुझाउने जानकारी गराए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरुलाई पुष ३ गते आईतवार निर्वाचित प्रमाणपत्र दिइने पनि बताए ।







