वीरगन्ज । नारायणगढ–मुग्लिन सडकखण्डमा मङ्गलबारदेखि (आज) दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडकखण्डमा पर्ने पुलको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले सवारी रोक्न लागिएको हो ।
एक महिनाका लागि सडक रोकेर काम गर्न लागिएको हो । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनिबस, माइक्रो बस, साना सवारीसाधनलाई पन्ध्र किलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्न लागिएको हो । मालवाहक ट्रक, लरी, ट्रेलर, टिपर, ट्याङ्करलगायत भारी सवारीसाधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने छ ।
काठमाडौँतर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ । काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ ।
बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने छ । पोखरा–काठमाडौँ सञ्चालन हुने सवारीलाई सहज सञ्चालका लागि ट्राफिक कार्यालयले समन्वय गर्नेछ । निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालन गर्नेछन् । सडकखण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा २० पुल रहेका छन् । तीमध्ये पाँच पुल बनिसकेका छन् । बाँकी पुल बन्ने चरणमा रहेका छन् । आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी कामअघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । विसं २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । यही पुस ९ गते सम्झौताको अवधि सकिँदै छ ।
विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो । असारसम्ममा १३ पुल सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए । तीमध्ये सेती दोभान, डुम्रे, तोपे, लामो बालुवा र खहरे दुई वटा पुल तीन महिनाभित्रमा सम्पन्न हुने कार्कीको भनाइ छ ।



