Categories अर्थ समाचार

‘अपुग कागजात’ १५ दिनभित्र नबुझाए कोरोना बिमाको फाइल बन्द

वीरगन्ज । अहिलेसम्म भुक्तानी नपाउने कोरोना बिमा दाबीकर्तालाई अपुग कागजात जतिसक्दो छिटो बुझाउन नेपाल बिमक संघले आग्रह गरेको छ । संघले कोरोना बिमा गरी पीसीआर रिपोर्ट पोजेभिट देखिएका बिमितले विभिन्न कम्पनीमा दाबीका लागि जानकारी गराएर पनि आवश्यक कागजात नबुझाएकालाई आगामी १५ दिनभित्र कागजात बुझाउन यस्तो आग्रह गरेको हो ।

संघले आइतबार सार्वजनिक सूचना जारी गर्दै दाबी भुक्तानीका लागि अझैसम्म पनि आवश्यक कागजात नबुझाएका बिमितलाई आगामी १८ पुससम्ममा आफुले दाबी गरेका कम्पनीहरूमा सम्पर्क गरी आवश्यक कागजात बुझाउन यस्तो आग्रह गरेको जनाएको छ ।

Advertisement

यसअघि दाबीकर्तालाई बारम्बार ताकेता गर्दासमेत आवश्यक कागजात नबुझाएको भन्दै संघले यस्तो आग्रह गरेको बताएको छ । आगामी १५ दिनभित्र आफूले दाबी गरेका कम्पनीमा सम्पर्क गरी अपुग कागजात बुझाउन यसरी जानकारी गराउँदा समेत नबुझाए उनीहरूको फाइल नै बन्द गरिने सो संघले जनाएको छ ।

Advertisement

चौतर्फी दबाबपछि नेपाल बिमा प्राधिकरणको निर्देशनपछि बल्ल विभिन्न बिमा कम्पनीले गत १३ मंसिरदेखि कोरोना बिमाको दाबी भुक्तानी दिन सुरु गरेका थिए । सबै बिमितलाई भुक्तानी दिन अपुग रकम मात्र सरकारले निकासा गरिदिएपछि अहिले सम्बन्धित बिमा कम्पनीले पहिलो चरणमा व्यक्तिगत रूपमा बिमा शुल्क तिरेर बिमालेख जारी गर्ने बिमितलाई मात्र भुक्तानी दिइरहेको छ ।

पहिलो चरणको वितरण कार्य सकिएपछि सरकारी कर्मचारी तथा संस्थागत रूपमा कोरोना बिमालेख जारी गरेको दाबीकर्तालाई पीसीआर रिपोर्ट पहिलो नम्बरमा बुझाएकालाई क्रमअनुसार भुक्तानी गर्दै जाने बताएको छ ।

व्यक्तिगत दाबीकर्ताबाहेकका दाबीकर्ताको हकमा भने नेपाल सरकार र नेपाल बिमा प्राधिकरणबाट आगामी दिनमा गरिने निर्णयअनुसार क्रमशः भुक्तानी गरिने निणर्यअनुसार पछि वितरण हुने संघले जनाएको छ । संघका अनुसार हाल व्यक्तिगत र परिवारको २५ हजार चारवटा बिमा दाबी भुक्तानी गर्न बाँकी छ । पहिलो चरणमा सोमध्ये १८ हजार ६० वटा बिमालेखको मात्रै भुक्तानी गरिने संघले जनाएको छ ।

यो समाचार राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *