श्याम सरार्फ
वीरगन्ज । संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ ।
पर्सा क्षेत्र नम्बर १ बाट दोस्रोपटकका लागि निर्वाचित भएका प्रदिप यादवले आफु मधेशको पहिरन लगाएर भोजपुरी भाषामा सपथ लिने आफ्नो समाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।
उनले फेसबुकमा लेखेका छन् “नेपाल के संघीय सांसद् के रुप मे आपन दुसरका कार्यकाल खातीर आज होके जा रहल सपथ ग्रहण में हम आपन मधेश के पहिचान आ पहिरन झलकावे वाला धोती, कुर्ता,पगरी और गम्छा लगा के भोजपुरी भाषा में सपथ लेवे जा रहल बानी ।”
यादव पहिलो पटक निर्वाचित भएर सपथ लिन जादा पनि मधेशी पहिरन झल्काउने पोसाक लगाएका थिए ।
नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएकी थिइन् ।
शपथ अघि आज ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बस्ने भएको छ । मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्ने भएको हो ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् । सर्वदलीय बैठकमा दलका प्रतिनिधि, सभाका अध्यक्ष राणा, संसद सचिवालयमा महासचिव डा. भरतराज गौतम लगायत सहभागी हुनेछन् ।







