Categories समाचार

पोखरामा निर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुदैं

Advertisement

काठमाडौँ । देशकै प्रमुख पर्यटकीय सहर पोखराका स्थानीयको पाँच दशकदेखिको सपना साकार भएको छ । पोखरामा निर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन हुने भएको हो ।

सरकारले आइतबार अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर विमानस्थल सञ्चालनमा ल्याउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहबीच विमानस्थल उद्घाटन गर्दै हुनुहुन्छ ।

Advertisement

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमका अनुसार आइतबार बिहान ११ बजे प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेता, उद्योगी तथा पर्यटन व्यवसायीलगायतको बृहत् सहभागितामा विमानस्थल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरा महानगरपालिकाले यही खुसियालीमा आइतबार सार्वजनिक बिदासमेत दिएको छ ।

Advertisement

गौतमले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा विमानस्थल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटनसँग सम्बन्धित सङ्घ संस्थासम्बद्धको सहभागिता रहनेछ ।” आइतबार बिहान विमानस्थलमा अवतरण हुने पहिलो जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने उहाँले बताउनुभयो ।

विमानस्थल सञ्चालन भएकै दिन अन्तर्राष्ट्रिय उडान गर्ने तयारी भए पनि अनुमति प्रक्रिया पूरा नहुँदा आइतबार आन्तरिक उडानबाट विमानस्थल उद्घाटन हुन लागेको हो ।

विमानस्थल उद्घाटनसँगै पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका मौलिक झाँकी प्रदर्शन, विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलगायतलाई रथारोहणसहित अभिनन्दन गरिनेछ । विमानस्थल उद्घाटनसँगै आइतबारदेखि सबै आन्तरिक उडान यही विमानस्थलबाट हुनेछन् ।

चीनको एक्जिम बैङ्कको २२ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विक्रम संवत् २०७३ मा शिलान्यास गरिएको विमानस्थलको २०७४ देखि निर्माणकार्य सुरु भएको थियो ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *