Categories समाचार समाज

अपाङ्गता भएको घरमा सिडिओ शर्मा आफैं नागरिकता प्रमाण पत्र लिएर पुगेपछि…

Advertisement

भक्तपुर । राज्यसँग नागरिकको कानूनी सम्बन्ध प्रमाणित गरी अधिकारको रक्षा गर्ने दस्तावेजको रुपमा रहेको नागरिकता वितरणमा अपाङ्गता भएका नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले विशेष सुविधा दिएको छ । आइतवार जिल्ला प्रशासन कार्यालय भक्तपुरले अपाङ्गता भएकी एक नागरिकलाई घरमै पुगेर नागरिकता प्रमाण पत्र प्रदान गरेको हो ।

मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ की सुप्रिना श्रेष्ठले घरमै आइपुगेकी सिडिओ रुद्रादेवी शर्माको हातबाट नागरिकता पाएकी हुन् । उनी अपाङ्गताका कारण हिडडुल गर्न नसक्ने जानकारी पाएपछि सिडिओ शर्मा आफैं नागरिकता प्रमाण पत्र लिएर उनको निवास पुगेकी थिइन् । उनी अरुको सहारा बिना उठ्न बस्न समेत नसक्ने अवस्थाको अपाङ्गतामा रहेकी छन् । सिडिओ शर्माले अपाङ्गता भएकाहरु कार्यालय आउँन कठिनाइ हुने हुँदा जिल्ला प्रशासन कार्यालयले घरमै पुगी नागरिकता प्रमाण पत्र प्रदान गर्दै आएको जानकारी गराउदै यसबाट परिवारजनमा समेत राज्यप्रति सकारात्मक भाव पैदा हुने बिश्वास व्यक्त गरेकी छन् । सिडिओ शर्माले कतिपयले दुखपूर्वक अपाङ्गता भएका नागरिकलाई कार्यालयमा ल्याएको स्मरण गर्नुका साथै आफूहरुलाई जानकारी भए त्यस्ता नागरिकलाई घरमै आएर सेवा दिने समेत जानकारी गराएकी छन् ।

Advertisement

सिडिओ शर्मा संग सहायक सिडिओ माधव प्रसाद शर्मा र प्रमुख प्रशासकीय अधिकृत उर्मिला खतिवडा घिमिरे लगायत नागरिकता फाँटका कर्मचारी समेत सहभागी थिए । उनीहरु कार्यालय समय सकिएपछि सेवामा खटिएका देखिन्थे । यस अघि पनि सूर्यविनायक नगरपालिकाका २ जना अपाङ्गता भएका नागरिकले घरबाटै सेवा पाएका बताउदै प्रमुख प्रशासकीय अधिकृत घिमिरेले अपाङ्गता भएका नागरिक प्रशासनमा धाउनु नपर्ने प्रष्ट पारिन् ।

Advertisement

सुप्रिनाकी आमा सुशीला श्रेष्ठले घरमै आएर नागरिकता दिएकोप्रति सिडिओ शर्मा नेतृत्वको टोलीलाई धन्यवाद व्यक्त गर्दै अन्य निकायले समेत अपाङ्गता भएकाहरुको ब्यथा बुझिदिएर सेवा दिनुपर्ने आवस्यकता औल्याएकी छन् ।

उक्त अवसरमा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ समेत उपस्थित थिए । उनले सिफारिस लिन आउदा नै सिडिओ कार्यालय जानु नपर्ने गरी वडाले आवश्यक समन्वय गरी अपाङ्गता भएका आफ्ना नगर भित्रका नागरिकलाई नागरिकता प्रमाण पत्र उपलब्ध गराउने व्यवस्था मिलाउने समेत प्रतिवद्धता प्रकट गरेका छन् । त्यतिमात्र होइन, उनले नगरपालिकाले समेत यस्तो घरदैलो सेवा शुरु गर्ने बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *