Categories समाचार

१५ किलोमिटरकै ५५० रूपैयाँ भाडा !


नवलपुर । खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो ।

कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय लाग्छ । त्यो दूरीमा जीप व्यवसायीले भने रु तीन सय ५० असुल गर्दै आएका छन् ।

Advertisement

“सानोतिनो सामान ल्याउन तमैल बजार पुग्नैपर्छ”, उहाँले भन्नुभयो, “तमैल पुग्न बाटोमै झण्डै रु हजार सकिन्छ । हामीजस्तो सानो व्यवसायीलाई छोटो बाटोमै बढी खर्च भए पनि केको व्यवसाय गर्नु रु”

Advertisement

खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाका कुलप्रसाद जोशी पनि सदरमुकामबाट घर जान भाडाकै चिन्ता लाग्ने बताउनुहुन्छ । “घरतिर हरेक हप्ता जानुपर्छ । बाटोमै धेरै खर्च हुन्छ ।

जीप सञ्चालकले मनोमानी तरिकाले गाडी भाडा लिन्छन् । प्रतिवाद कसैले गर्दैैनन् ।” उहाँका अनुसार छान्नामा जीप सञ्चालक कम यात्रु भए नजाने तर क्षमताभन्दा बढी भए पनि थपिहाल्छन् । “कति दिन तमैल बजारमै थुप्रो जीप भएर पनि हिँडेर गइयो”, उहाँले भन्नुभयो, “जीप नभरिञ्जेल कुनै ठाउँबाट पनि हिँड्दैनन् तर जीप भरिए जुन ठाउँबाट चढे पनि रु सयभन्दा तल लिँदैनन् ।”

खप्तडछान्नामा अघिल्लो सरकारको पालामा एक पटक मूल्य निर्धारण गरिएको थियो । “प्रतिकिलोमिटर रु १२ तोकेर तमैल–कालुखेती–गडराय–थामलेकको भाडा निर्धारण गरिएको थियो”, खप्तडछान्ना–५ का राजेश कार्कीले भन्नुभयो, “त्यो बेलामा कालुखेतीबाट रु एक सय २० मै तमैल पुग्थ्यौँ । पछि सडक बिग्रेको, डिजेलको मूल्य बढेको भन्दै व्यापारीले मूल्य बढाइरहे । पालिकाले कुनै सुनुवाइ गरेन ।”

उहाँका अनुसार भाडाको विषयलाई लिएर पटकपटक कुरा उठ्दा पनि पालिकाले चासो दिएको छैन । “कालुखेतीबाट गडरायसम्म करिब पाँच किलोमिटर दूरी छ । त्यसमा पनि व्यवसायीले रु दुई सय असुल्दै आएका छन् ।” उहाँले भन्नुभयो । गडरायका ध्रुव रोकाया दसैँ बिदामा घर आएको बेला सम्झिँदै भन्नुहुन्छ, “घर आएको बेला गाडी चालकसँग झगडा नै भयो । रुट प्रमिट पाएका सडकमा पनि तेब्बर भाडा लिएको भन्दै झगडा भयो । पछि ठूलो लफडा हुनसक्ने भन्दै बोलेनौँ ।”

उहाँ पनि पालिकाले भाडा यकिन गरी बढी पैसा असुल्ने जीप व्यवसायीलाई कारबाही गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जीप व्यवसायीलाई जसले जति भाडा लिए पनि हुन्छ भन्ने भएको छ ।

१० मिनेटको बाटोमा गाडी चढे पनि रु सयभन्दा बढी असुल्छन् ।” यता जीप व्यवसायी हेमराज थापा जीप भाडा अलि बढी नै भएको स्वीकार्नु हुन्छ । उहाँ भन्नुहुन्छ, “जीपको भाडा अलि बढी नै हो तर सडकको अवस्थाअनुसार त्यो भाडा केही पनि होइनजस्तो लाग्छ ।” सरकारले सडक अलि गतिलो बनाइदिएको भए भाडा निकै सस्तो हुने उहाँ बताउनुहुन्छ ।
“गाडी भाडाको विषयमा हामी जीप व्यवसायी आफैँले सल्लाह गरेर एक मूल्य तोकेका हौँ ।

गाडी छान्नामा दुई÷तीन ठाउँमै खोलामा हाल्नुपर्छ । खोलामा हाल्दा हप्तामै रु आठ÷दश हजारका टायर फेर्नुपर्छ । त्यो हेर्न हो भने व्यवसायीलाई पनि निकै मर्का छ ।” उहाँले भन्नुभयो । थापाका अनुसार सरकारले सडक बलियो बनाइदिए जीप भाडा अन्य ठाउँको जस्तै हुन्थ्यो । “सबैले हामीलाई मात्रै दोष दिन्छन् । यहाँ हिउँदकै महिनामा पहिरो आएर सडक अवरुद्ध हुँदासमेत व्यवसायीले पहिरो पन्छाएर यात्रुको सुविधाका लागि जीप गुडाउनुपर्छ ।” उहाँले भन्नुभयो ।

सांकेतिक तस्बिर

– रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *