Categories समाचार

कयौँ सपना साँचेर अमेरिका जान हिँडेको “सबै सपना चकनाचुर भयो”

Advertisement

रुकुमपश्चिम । ‘अवैध’ बाटो हुँदै ‘सपनाको देश’ अमेरिका जाने क्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१०, का २० वर्षीय मदन शाही पानामाको जङ्गलमा मृत अवस्थामा भेटिएको खबर घरमा आइपुगेको छ।

छोरो अमेरिका पुगेको खबर कहिले आउला भन्दै कुरेर बस्नुभएकी पुतली शाही छोरो नै नरहेको खबर सुनेर मर्माहत हुनुभएको छ। मदनले घर छोडेको वर्ष दिन पुग्नै लाग्दा आइपुगेको दुखद खबरले परिवार र आफन्तलाई विक्षिप्त बनाएको छ।

Advertisement

मदनका दाइ कपिल शाहीले गत वर्षको फागुनमा घरबाट निस्केको भाइको मङ्सिर २५ गते मृत्यु भएको खबर सामाजिक सञ्जालमा फैलिएको जानकारी दिनुभयो।

Advertisement

“घरमा बज्रपात भयो,” कपिलले भन्नुभयो, “कयौँ सपना साँचेर भाइ अमेरिका जान हिँडेको थियो, सबै सपना चकनाचुर भए, परिवारमा बल्नै लागेको खुसीको दियो निभ्यो।” मृत्युको खबर आधिकारिक रूपमा नआए पनि सँगै गएका साथीमार्फत जङ्गलको खोला किनारमा शव भेटिएको भन्दै परिवारसम्म सूचना आइपुगेको हो।

आठ वर्षसम्म नेपाली सेनाको जागिर खानुभएका रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५, थर्पुगाउँका ४० वर्षीय रमेश गौतमको सपनाको देश अमेरिका थियो।

सेनाबाट स्वेच्छिक अवकाश लिएर केही समय घर बसेपछि अवैध बाटो हुँदै अमेरिका जानेक्रममा गत कात्तिक २५ मा पानामाको क्यारेबियन सागरमा रमेशको जीवनयात्रा टुङ्गियो। समुद्रमा उहाँसहित २५ जना चढेको डुङ्गा दुर्घटना भएपछि सपनाको देशको यात्रा पानामा सागरमै बिलायो।

रमेशसँगै हुनुहुन्थ्यो रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–७ का २५ वर्षीय प्रदीप खत्री पनि। पहिलो पटकको अवैध यात्रा असफल भएर बीचबाटै नेपाल फर्कनुभएका खत्री दोस्रो पटक अमेरिकी सपना पछ्याउँदै पुनः जाँदा क्यारेबियन सागरमा अस्ताउनु प¥यो।

अमेरिका यात्रा गर्नेहरूको हुलमा मिसिएका बाँफीकोट गाउँपालिका–३ का २८ वर्षीय रूपक बोहराको पनि गत वर्षको मङ्सिर ११ गते बाटोमै ज्यान गएको थियो। गैरकानुनी रूपमा अमेरिका हिँडेका बोहरा घानामा मलेरियाबाट ग्रसित भएपछि बेलैमा उपचार नपाएर मृत्यु भएको थियो।

अलपत्र अवस्थामा रहेका बोहरालाई त्यहाँका नेपालीले उद्धार गरेर अस्पताल पु¥याएको केही दिनमै मृत्यु भएको थियो। श्रीमान् बित्दा काखमा नौ महिनाकी छोरी र दुई वर्षको छोरो रहेको बताउँदै बोहराकी श्रीमती गीता पुरी बोहराले जीवनका कयौँ सपना चकनाचुर भएको बताउनुभयो।

सङ्गठित मानव तस्करको भर परेर अमेरिका जानेको सङ्ख्या जिल्लामा बढ्दै गएको छ। अवैध रूपमा अमेरिका जाने लहर चल्दा लाखौँ रुपियाँ डुब्ने जोखिम त छँदैछ, त्यसरी हिँडेकाको प्राण नै नरहने त्रास पनि उत्तिकै छ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *