अन्जु कुमारी
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा बाट खटिएको संयुक्त टोलीले बुधबार दिउँसो करिब ०३:३० बजेको समयमा श्रोत नखुलेको लाखौं रकम सहित दुई जना भारतीय नागरिक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. १६, शंकराचार्य गेट स्थित सडक खण्डमा भारतबाट नेपालतर्फ आउने सवारी साधनहरू चेकजाँच गर्ने क्रममा उक्त दिन BR 05 AV 6871 नम्बरको कालो रंगको होण्डा मोटरसाइकल तथा BR 05 AT 8967 नम्बरको होण्डा मोटरसाइकल चलाइ वीरगञ्ज तर्फ आउँदै गरेको मोटरसाइकल चालक द्वयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतको विहार राज्य, जिल्ला मोतिहारी, रक्सौल वडा नं. १० बस्ने २५ वर्षका राकेश कुमार तथा वडा नं. ११ बस्ने २७ वर्षका प्रसंजित कुमारले हेलमेटभित्र लुकाइ छिपाइ ल्याइएको श्रोत नखुलेको नेपाली रु. १८ लाख फेला परेको थियो ।
निजहरूलाई उल्लेखित नगद र उक्त नम्बरहरुको मोटरसाइकल सहित नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।








