काठमाडौं । जनता समाजवादी पार्टी जसपाले उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन पाउने व्याख्या सही नहुने बताएको छ ।
निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष र खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएकाले यो भन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपति पदको उम्मेदवार हुन सक्ने भनी विज्ञप्ति निकालेको छ ।
आयोगले विज्ञप्ति निकालेपछि जसपाले निर्वाचन आयोगले पुरुष राष्ट्रपति भएकाले महिला मात्रै उपराष्ट्रपतिको उम्मेदवार हुुन सक्ने भन्न नमिल्ने प्रतिक्रिया दिएको हो ।
‘निर्वाचन आयोगलाई आफूखुसी संविधानको व्याख्या गर्ने अधिकार छैन् । यदि उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन सक्छ भनियो भने त्यो गलत हुन्छ’ जसपाका सांसद प्रदिप यादवले भने ।
जसपाले उपराष्ट्रपति आफूले पाउनु पर्ने दाबी सत्ता गठबन्धनमा गरेको छ । र उसले बारा-२ बाट प्रतिनिधि सभामा निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उठाउने निर्णय नै गरिसकेको छ ।
जसपा निकट श्रोतका अनुसार रामसहायप्रसाद यादव उपराष्ट्रपति भएमा उनको क्षेत्रमा उपनिर्वाचन हुने र त्यहाँबाट उपचुनाव लड्ने अध्यक्ष उपेन्द्र यादवाको तयारी छ ।
जसपा अध्यक्ष उपेन्द्र यादव गत चुनावमा सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । साभार अनलाइन खबर





