श्याम सरार्फ
वीरगञ्ज । ‘सुस्त मनस्थितिको अपांगता अन्य अपांगता भन्दा बढी जटिल र अप्ठ्यारो हुन्छ । परिवारमा कोहि एकजना सुस्त मनस्थितिका भए परिवारका सबै सदस्यलाई समस्या हुनेगरेको देखिन्छ ।
आफ्नो हेरचाह समेत आफै गर्न नसक्ने त्यस किसिमको अपांगता भएकाहरूलाई हेरचाह सहित सम्पूर्ण कर्म र क्रियाकलाप अरुले गराइदिनुपर्छ ।
फरक छमता भएका त्यस किसिमका बालबालिकालाइ परिवारका अरु बालबालिका जस्तै स्कुल पठाइदैन, खेलकुद लगायतका क्रियाकलाप गर्ने बाताबरण मिलाइदैन । कतिले त घरको कोठा भित्र कैद गरेर राखेको समेत देखिन्छन । वा बाहिरै राख्नुपरे हातखुट्टा बाधेर राखेको घटना पनि कयौंपटक सार्वजनिक भएको देखियो ।

खासमा त्यस्ता बालबालिका प्रतिको लगाव कम हुदै जानू र अब इनहरुले केहि गर्न सक्दैनन् भनेर बोझ मान्ने पारिवारिक मनस्थितिले झन् त्यस्ता बालबालिकाहरूलाई पिडा दिरहेको यश सम्बन्धि कार्य गर्नेहरु बताउँछन् ।
समान्यता त्यस किसिमका बालबालिकालाई बिधालयहरुले भर्ना लिन मान्दैन र मानेपनि पढाइ बापत तिर्नुपर्ने रकम महंगो भएकाले निम्न वर्गको परिवारले सुस्त मानसिकता भएको बालबालिकालाई घरमै थुनेर राख्न बाध्य रहेको देखिन्छ । पछिल्लो समय वीरगञ्जमा एक बिधालयको शुरुआत भयो जहा फरक छमता भएका तथा सुस्त मनस्थितिका बालबालिकालाई पढाइने भएपछि त्यस्ता बालबालिका रहेका परिवारलाई राहत भएको छ ।
वीरगञ्जको सिद्धाथ स्कुल परिसरमा सञ्चालन भइरहेको आशा किरण केन्द्रले कैयौं परिवारको आशा जगाएको छ । सुस्त मनस्थितिका बालबालिकालाई दिवा हेरचाह, पढाइ लेखाइका साथै विभिन्न किसिमका खेलकुद, मनोरञ्जन र क्रियाकलाप निशुल्कनै गराइरहेकोले घर बाहिर समेत ल्याउन नमान्ने परिवार अहिले आफैं आफ्ना सन्तानलाई बिधालय लिएर आउने केन्द्र कि नुतन सरावगीले बताउनु हुन्छ ।

पढाइ संगै खेलकुद र अन्य क्रियाकलाप गराएर सिकाउने प्रयास गर्दा त्यसकिसिमका बालबालिकामा निकै परिवर्तन हेर्ने गरिएको समेत उनले बताइन् ।
हतपते बाहिर जान नमान्ने र साहसिक कार्य गराउदा डराउने ती बालबालिकाहरुलाई अन्तर्राष्ट्रिय विश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा हिजो ( सोमबार) आश्चर्यको संसार (WOW) मा भ्रमण गराइएको छ ।
खेल्न जान्नु खुसीको प्रतिक हो भन्दै केन्द्रका १८ जना बालबालिकालाई वल्र्ड अफ वन्डर्समा भ्रमण गराइएको थियो ।
खेल्नु बालबालिकाको मौलिक अधिकार हो तर विभिन्न कारणवस खेलबाट टाढा रहेकाहरुका लागि खेलेर सिक्नलाई समर्थन गर्दै साहसिक पार्क लगिएको सदस्य सरावगीले थपिन ।

यस्ता बालबालिकाको शारीरिक क्रियाकलापमा बढी प्राथमिकता दिनसके उनीहरूलाई सक्रिय र रचनात्मक पनि बनाउनेछ।
बाहिरी दुनियाँ हेर्नासाथ डराउने र अरुले तिनलाई हेर्दा सहानुभूति देखाउने ती बालबालिकाहरुले मनोरञ्जनात्मक खेलहरूमा खुलेरै भाग मात्र लिएन्न ती मध्ये चार जनाले साहसिकको पहिलो स्तर पूरा समेत गरे ।
सहानुभूति भर भात्र सिमित राखिएका यस्ता बालबालिकाले अवसर पाउदा राम्रै गरिरहेकोले दया र अफसोस गर्नुको सट्टा विभिन्न क्रियाकलापमा सहभागी गराउन सके सामान्य बालबालिका सरह अगाडि बढाउनमा आफू दुइमत नरहेको केन्द्रका महासचिव राजन श्रीवास्तवले भने ।

समाजसेवी राजेश अग्रवालले भ्रमणका लागि निशुल्क यातायात उपलब्ध गराएका थिए ।
पार्कका सञ्चालक सौरभ केडिया, हेमन्त वैद्य र उनको WOW का सम्पूर्ण टोलीले ती बालबालिकाहरुलाई थप सुरक्षा सुनिश्चित गर्नका लागि सबै जनशक्ति संलग्न थिए जसले बच्चाहरूलाई स्वतन्त्र र सुरक्षित रूपमा आनन्द लिन मद्दत गर्यो ।
आगामी दिनहरूमा हाम्रा बच्चाहरूको लागि थप शारीरिक गतिविधिहरू सञ्चालन गर्न हाम्रो टोलीलाई प्रोत्साहन दिनुभएकोमा केन्द्रका संस्थापक अध्यक्ष सुनिल गुप्ताले धन्यवाद व्यक्त गरेका थिए ।
देशभर करिब १५ लाख जनामा सुस्त मनस्थितिको समस्या रहेको अनुमान छ ।
यस्तो विद्यालयमा मानवीय ब्यवहार, सीप विकास, खेलकुद र मनोरन्जन जस्ता माध्यमबाट सुस्त मनस्थिति भएकालाई व्यवहारिक ज्ञान दिइन्छ ।
सुस्त मनस्थिति विभिन्न चार तहको हुन्छ । जसमा माइल्ड र डाउन सिन्ड्रोम तहकाले सिकाएको कुरा सिक्न सक्छन् भने मोड्रेडले अति कम सिक्न सक्छन् भने सिभिएर तहको सुस्त मनस्थिति भएकालाई सिक्न कठिन हुन्छ ।





