Categories समाचार

मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न नसकिने : गृह मन्त्रालय

Advertisement

काठमाडौँ । सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न धेरै कानूनहरु संशोधन गर्नुपर्ने भएकाले तत्काल समस्या समाधान गर्न नसकिने स्पष्ट पारेको छ ।

आज (मंगलवार) मिटरब्याज पीडितहरुसँग समस्या समाधानको पहल गर्न सरकारको तर्फबाट प्रदर्शनस्थलमा पुगेको गृहमन्त्रालयका सहसचिवको टोलीले मिटरब्याजी पीडितहरुको समस्या वर्तमान कानूनले सम्बोधन नहुने र ऐनका लागि मन्त्रालयले पहल गरिरहेको बताएको हो ।

Advertisement

आज मिटरब्याजी पीडितहरुसँग सरकारको तर्फबाट वार्ताका लागि प्रदर्शन स्थलमा पुगेका गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख घनश्याम अधिकारी लगायतको टोलीले समस्या समाधानका लागि सरकारबाट पहल भइरहेको बताए ।

Advertisement

सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्रालयका सहसचिव शर्माले पीडितहरुले छलफलका क्रममा प्रधानमन्त्रीसँग भेट्ने र केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सक्रियता कम रहेको गुनासो गरेको भन्दै पीडितका माग सम्बोधनका लागि आफूले समन्वय गर्ने प्रतिबद्धता जनाए ।
‘गृह मन्त्रालयले गफ लगाएको छैन । असोज १ गते ५ बुँदाको सम्झौता भएको छ । आजको भोलि समस्याको समाधान हुँदैन । हामीले के गरेका छौँ भन्ने सम्बन्धमा म छलफल गर्न तयार छु,’ सञ्चारकर्मीसँग सहसचिव शर्माले भने, ‘उहाँहरुसँगको कुराकानीमा केही जिल्ला प्रमुख जिल्ला अधिकारीको सक्रियता कम छ भन्ने गुनासो सुनेको छु, त्यो विषयमा कुराकानी गर्नेछौँ । अहिले केही कुराहरुका लागि कानून बनाउनुपर्ने देखियो । वर्तमान कानूनले यो समस्या समाधान हुँदैन । कानून पनि प्रतिवेदनको आधारमा हुन्छ, हामीले कानून, न्याय तथा संसदीय मन्त्रालयमा पठाएका छौँ ।’

सदियौँदेखिको समस्या एकदिनमै चैट नहुने र कानून बनाउन समय लाग्ने उनले बताए । ‘कानून बनाउने विषय अघि बढीरहेको छ । धेरै दिन बस्नुपर्दैन । उहाँहरुका समस्या छिटै समाधान हुन्छन् । प्रधानमन्त्रीसँग भेट्ने कुरा गर्नुभएको छ उहाँहरुलाई भेटाउन म प्रधानमन्त्रीसँग कुरा गर्नेछु,’ शर्माले भने ।

११ दिन पैदल हिँडेर सोमवार काठमाडौं आइपुगेका पीडितहरूले सोमवार खुलामञ्च अगाडि विरोध प्रदर्शन गरेका थिए भने आज बिहानैबाट टंगालबाट बालुवाटारतर्फ विरोध शुरु गरेका हुन् । तर प्रहरीले घेरा हालेर उनीहरुलाई बालुवाटार छिर्न दिएन । अहिले उनीहरू भद्रकाली हुँदै माइतीघर मण्डलातिर लागेका छन् ।

साभार
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *