वीरगञ्ज । बारामा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु भएको छ । स्थानीय तह निर्वाचन २०७९ का लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बारा जिल्लाका दुई हजार पाँच सय अठाईस (२५२८) म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेश थापाले बताए । छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ ।
अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए पनि पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक ३० हजार २ सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार २ सय , पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार, यातायात खर्च बापत १ हजार रुपैयाँ र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
छनोट प्रक्रिया भने १५ चैतदेखि प्रारम्भ हुने, नतिजा २२ चैतसम्म प्रकाशन गरिने र २८ गतेदेखि प्रशिक्षण सुरु गरिने भएको छ ।







