पर्सा । वीरगन्जमा आज देखि अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । पर्सा जिल्ला तेक्वान्दो संघले आयोजना गरेको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको समुद्घाटन , मधेस प्रदेशका उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले गर्नुभयो । भोलि सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका खेलाडीहरुको सहभागिता रहेको छ । नेपालबाट सात वटै प्रदेश , नेपाली सेनाको त्रिभुवन आर्मी क्लब , सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब तथा भारत र बंगलादेशका गरि १७ वटा टिमका खेलाडी सहभागी छन् ।
नेपालबाट मात्रै १२ टिम , भारतको सिक्किम, दार्जिलिङ , पन्जाब र पन्जाब गरि ४ टिम र बंगलादेशबाट १ गरि कुल १७ टिमका खेलाडीले प्रतियोगितामा भाग लिएको पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिनुभयो ।खेलाडी, रेफ्री र प्रशिक्षक गरि करिब ३ सय जना सहभागी प्रतियोगितामा ४१ केजी देखि ७४ केजी तौल समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताउनुभयो ।अगामी १४ औं साग खेलकुद प्रतियोगिता र इन्डोनेशीयामा हुने १९ औं एसियन खेलकुद प्रतियोगितालाइ मध्यनजर गरि वीरगन्जमा ३ वटा देशका खेलाडी सहभागी गराएर अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको श्रेष्ठले बताउनुभयो ।
पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेशमान श्रेष्ठकै अध्यक्षतामा शुक्रबार आयोजित प्रतियोगिताको समुद्घाटन समारोहमा प्रदेशसभा सदस्य राजेश्वर साह तेली , पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल , नेपाल प्रहरीका प्रहरी उपरिक्षक रमेश बस्नेत , सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल, शिक्षाविद् डाक्टर दिपक शाक्य , वडा अध्यक्ष रामनगीना साह कानु , एमाले नेता शीव पटेल लायगतले प्रतियोगिता सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।







