काठमाडौं । सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले आक्रमण गरेपछि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणकार्य ठप्प भएको छ । सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले स्थानीयले आयोजनाको कार्यालय र कार्यरत जनशक्तिमाथि आक्रमण गरेपछि सुरक्षा अभावमा चैत २८ गतेदेखि नै सुरुङ निर्माणकार्य ठप्प भएको जानकारी दिए ।
उनले भने, “आयोजनाको कार्यालय, काम गरिरहेका जापानी इन्जिनियर र कामदारमाथि साङ्घातिक आक्रमण गर्नुका साथै गाडीलगायतका भौतिक संरचनामा समेत हानि पुर्याएको भन्दै जापानी निर्माण कम्पनीले काम गर्न नमान्दा काम ठप्प भएको हो ।
”आयोजना प्रमुख शाक्यका अनुसार करिब एक सय जनाको समूहमा आएका स्थानीयवासीले ढुङ्गामुढा, लाठी र लात्तीमुक्का प्रयोग गरी कार्यालयको ब्लक नम्बर १ भवनको छ सेट झ्याल र एउटा ढोका, ब्लक नम्बर २ को चार सेट झ्याल, मेडिकल हलको दुईवटा झ्याल र एउटा ढोका तोडफोड गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले छलफलका लागि निर्माण पक्ष र स्थानीयलाई आइतबार बोलाएको छ । छलफलमा प्रशासनबाट निर्माण स्थलमा २४ घण्टा सुरक्षाको सुनिश्चितता नभएसम्म हामी काममा फर्कन नसक्ने उनको भनाइ छ । उनका अनुसार दैनिक १२ मिटर सुरुङ खन्ने काम हुँदै गरेकोमा छ दिनदेखि काम ठप्प छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।






