अनिषकान्त कुश्वाहा
वीरगन्ज । पर्सामा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । चैत २५ देखि अभियान सुरु गर्ने तयारी गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए पनि पर्सामा आजदेखि सुरु गरिएको छ । आगामी वैशाख १८ गतेसम्म मधेस प्रदेशका १ सय ३६ वटै स्थानीय तहमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको निर्देशनालय मधेस प्रदेशका निर्देशक विजयकुमार झाले बताए । पर्सामा भने वैशाख ५ देखि वैशाख १२ सम्म खोप अभियान चल्ने लालपर्सा स्वास्थ्य चौकीका इन्चार्ज मेवालाल ठाकुरले बताउनु भयो ।
१५ महिनादेखि १५ वर्षसम्मका १७ लाख ८७ हजार ७ सय १० जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी रहेको झाले जानकारी दिए । खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा झार्ने सरकारको लक्ष्यअनुसार प्रदेशमा बढ्दो टाइफाइडविरुद्ध खोपअभियान सञ्चालन गर्न लागिएको उनले बताए । पूर्ण खोपको सुनिश्चितता गर्न र खोप कभरेज ९५ प्रतिशत पुर्याउने जिल्लामा अभियानकै रूपमा खोप अभियान चलाइएको छ ।

टाइफाइड दूषित पानी र खानेकुराबाट संक्रमण हुने रोग हो । मधेस प्रदेशमा ४ वर्षमुनिका ३ लाख ७३ हजार ९ सय ४० र ४ देखि १५ वर्ष उमेर समूहका १४ लाख १३ हजार ७ सय ७० बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । निर्देशक झाका अनुसार खोपबाट कोही बालबालिका नछुट्ने गरी प्रदेशका सबै वडास्तरसम्मका विद्यालयमा पनि खोप टोली परिचालन गरिएको छ ।
पर्सामा ४० हजार ७५१ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ५९ हजार २१२ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने योजना रहेको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने स्वास्थ्य निर्देशनालय मधेस प्रदेशले जानकारी दिएको हो । सरकारी तथ्यांकमा पछिल्लो पाँच वर्षमा देशभर ४ लाख ५० हजार बालबालिका टाइफाइड रोगका कारण बिरामी परेका छन् । खोपका लागि स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ ।
