Categories समाचार

सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट ठगी गर्ने कार्य बढिरहेको भन्दै सचेत रहन सुझाव

Advertisement

वीरगन्ज ।  नेपाल प्रहरीले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन देखाएर ठगी गर्ने कार्य बढिरहेको भन्दै सचेत हुन आम नागरिकलाई सुझाव दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक सूचना जारी गरी त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिनसमेत अनुरेध गरेको छ ।

Advertisement

पछिल्लो समय नेपालमा अवैध ऋण लगानी (मिटर ब्याज) गरी दिएको रकमको धेरै गुणा रकम तिरिसक्दासमेत तमसुक, चेक वा दृष्टिबन्धक जग्गा फिर्ता नदिई उठीवास गराउने गरेको, वैदेशिक रोजगारीको प्रलोभन, फोन, मेल र सामाजिक सञ्जालको दुरुपयोग गरी वा सामाजिक सञ्जालमा साथी बनाई चिठ्ठा, उपहारका नाममा ठगी, सस्तो मूल्यमा सामान पठाई दिने भनी ठगी गर्नेजस्ता घटना देखिएको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताउनुभएको छ ।

Advertisement

यस्तै विदेशी नागरिकको आवरणमा आकर्षक गन्तव्यमा पठाइदिने, विवाह गर्ने, व्यापारिक साझेदार बनाउने वा सामाज सेवाका नाममा डलरले भरिएका बाक्साका फोटो देखाई एवं झुटा श्रव्यदृष्य सामग्रीसमेत पठाई भ्रममा पारी ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी नजिकका व्यक्ति बनी आकस्मिक रूपमा फोनका माध्यमबाट पैसा मागी ठगी गर्ने, मोबाइल बैंकिङका पासवर्ड र बैंकका विवरण मागी रकम झिक्ने, सामाजिक सञ्जालमा भिडिओ कल गरी अश्लील फोटो तथा भिडिओ लिई अपलोड गरिदिने धम्की दिई आपराधिक लाभ लिने, नेपालीको बैंक खातामा अवैध रकम जम्मा गर्न लगाई हुण्डीमार्फत विदेशमा पठाउन लगाउने वा नचिनेका व्यक्तिलाई पैसा दिन लगाई आपराधिक कार्यमा संलग्न गराउने कार्य भएको भनी प्रहरीमा उजुरी परेको छ ।

नेपालमा क्रिप्टोकरेन्सी तथा डिजिटल नेटवर्किङ आदिबाट धेरै गुणा प्रतिफल दिने भनी प्रलोभनमा पारी ठगी गर्ने कार्यसमेत देखिएको जनाउँदै ब्युरोले यस्ता अवाञ्छित कार्यका सम्बन्धमा सचेतना बढाई सजगता अपनाउन र ठगीबाट बच्न अनुरोध गरेको छ । जाहेरी प्राप्त भएको अवस्थामा प्रहरीद्वारा कसुरदारबारे अनुसन्धान गरी कानुनबमोजिम कडाइका साथ कारबाही भइरहेको छ । यस्तै घटनामा संलग्न नवलपरासीका सुनिलकुमार गुप्ता र जगदिश कानुलाई पक्राउ गरी अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ ।

सांकेतिक तस्बिर
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *