वीरगञ्ज । निजी विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीसँग मनोमानी शुल्क असुलेको बिरोधमा वीरगञ्जका अभिभावकहरु संघर्षमा उत्रिएका छन् ।
वर्षै पिच्छे किताब परिवर्तन गरेर अभिभावकलाई आर्थीक भार थोपर्नुका साथै किताब किन्न पनि तोकिएको पसलबाट मात्रै लिनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न यहाका अभिभावकहरु एक जुट भएका हुन् ।
अहिले निजी विद्यालयले विभिन्न शीर्षकमा उठाउँदै आएको शुल्क ५० प्रतिशतले बृद्धि गरेको पनि अभिभावकको आरोप छ ।
उनीहरुले स्कुल ड्रेसमा भइरहेको कमिसनखोरी बन्द गर, प्रत्येक वर्ष किताब परिवर्तन गर्न पाइँदैन, मनोमानी फि लिन पाइँदैन लगायतका प्लेकार्ड बोकेर प्रदर्शन पनि गरे ।
अभिभावकहरु स्वस्फूर्त रुपमा भेला भएर निजी विद्यालयको मनोमानीका विषयमा वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई जानकारी गराउने पनि बताएका छन् ।
निजी विद्यालयको शुल्क पनि महानगरपालिकाकाले नै तोक्ने व्यवस्था मिलाउन सिंहसँग अनुरोध गर्ने अभिभावकबीच सल्लाह भएको संघर्ष समितिका संयोजक सन्दिप कुमार साहले बताए ।
महानगरले नै शुल्क तोकिदिए निजी विद्यालयको मनोमानी अन्त्य हुने अभिभावकको विश्वास छ ।
विद्यालय शिक्षाकाे मन्दिर हाे, शिक्षालाई व्यापारिकरण गर्न पाइदैन भन्ने नाराका साथ अभिभावकहरु निजी विद्यालयकाे मनाेमानीकाे बिराेधमा एक भएका हुन् ।
अभिभावकहरुले वीरगञ्जमा संघर्ष समिति नै बनाएर निजी विद्यालयको मनोमानीको विरोधमा संघर्ष थाल्ने तयारी गरेका छन् ।
जस अनुरुप शनिबार अनमाेल पार्टी प्यालेसमा भेला भएर उनीहरुले पहिलाे चरणमा निजी विद्यालयकाे मनाेमानीका विषयमा महानगरका मेयरलाई जानकारी गराउने र त्यसपछि चरणबद्ध कार्यक्रम गर्ने सहमति भएकाे संघर्ष समितका संयाेजक साहले बताए ।







