Categories समाचार

निर्वाचन घोषणमा किन ढिलाइ ?

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सरकारसमक्ष २ मंसिरको मिति प्रस्ताव गरेको २५ दिन बितिसक्दा पनि सरकारले मिति घोषणा गरेको छैन ।

आयोगले निर्वाचनका लागि तयारी गर्न १ सय २० दिनको समय आवश्यक पर्ने भन्दै २२ असारमा सरकारसमक्ष २ मंसिरको मिति प्रस्ताव गरेको थियो । तर, सरकारले मिति घोषणा नगर्दा मंसिरमा निर्वाचन हुने नहुने निश्चित छैन । आयोगले मिति घोषणामा ढिलाइ भए निर्वाचन तयारीमा समस्या हुने बताउँदै आइरहेको छ ।

Advertisement

उच्च स्रोतका अनुसार संसद्को चालू अधिवेशन अन्त्य गरेर मात्रै निर्वाचन मिति तोक्ने सरकारको तयारी छ । सरकारमा रिक्त अर्थमन्त्री, नागरिकता विधेयकका कारण निर्वाचन मिति घोषणामा ढिलाइ भएको स्रोतको दाबी छ । तर, आइतबार नै अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त भइसकेका छन् भने नागरिकता विधेयक दुवै सदनबाट पारित भएर आइतबार सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरिसकेका छन् ।

Advertisement

‘संसद्को चालू अधिवेशन सक्ने, अर्थमन्त्री नियुक्त गर्ने र नागरिकता विधेयक प्रमाणीकरण भएपछि निर्वाचनको मिति तोक्ने सरकारको तयारी हो, अर्थमन्त्री नियुक्त भइसकेका कारण अब सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाटै पनि मिति घोषणा हुन सक्छ, त्यो सम्भावना छ,’ एक मन्त्रीले राजधानीसँग भने ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने आयोग निर्वाचनका लागि सम्पूर्ण रूपमा तयार रहेको बताए ।

यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *